काठमाडौं । इनर्जी बैंक स्थापना गरी अघि बढ्न भारत सकारात्मक देखिएको छ । केही वर्षदेखि चर्चामा रहेको इनर्जी बैंकमा पछिल्लो समय भारत सकारात्मक बन्दै गएको छ । वर्षातका समयमा भारतमा विद्युत पठाउने र हिउँदमा सोही मात्रामा नेपालले आयात गर्ने गरी इनर्जी बैंकलाई अगाडि बढाउन लागिएको छ ।
नेपालका सबस्टेशनहरुमा अहिलेसम्म प्रोटेक्सन् इक्वीपमेन्टको जडान गरिएको छैन । जसका कारण एक सबस्टेशनमा आएको खराबीले पुरै सिस्टमलाई असर गर्न सक्छ । यस्तो सबस्टेशनहरुबाट भारतमा विद्युत् पठाउँदा त्यहाँको सिस्टमलाई पनि असर गर्नसक्ने भन्दै भारतले विद्युत् प्राधिकरणलाई आफ्ना सबस्टेशनमा प्रोटेक्सन् इक्वीपमेन्ट जडान गर्न सुझाव दिएको छ । यसमा प्राधिकरण सहमत भइसकेको छ ।
हालैमात्रै सम्पन्न भएको नेपाल–भारत ज्वाइन्ट अपरेसन कमिटी बैठकमा नेपाली पक्षले प्रोटेक्सन इक्वीपमेन्ट राख्न सहमति जनाएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् । ६ सदस्यीय संयुक्त सञ्चालन समितिमा अधिकारी पनि सदस्य छन् । गत वैशाखमा बसेको दुईदेशीय सचिवस्तरीय बैठकले यस्तो ज्वाइन्ट अपरेसन कमिटी बनाएको थियो । यो बैठकमा भारत नेपालमा बढी भएको बिजुली खरिद गर्न सहमत भएको थियो ।
ज्वाइन्ट अपरेसन कमिटीको बैठकले नेपाल–भारत अन्तरदेशीय प्रसारणलाइनमा आउनसक्ने समस्या तत्काल समाधान गर्नको लागि एक प्रोटेक्सन समितिसमेत गठन गर्ने सहमति भएको छ । यस्तो समितिको गठनपछि भारतीय समूह नेपालका सबस्टेशनको बारेमा अध्ययन गर्न नेपाल आउने अधिकारीले जानकारी दिए । साथै यही टोलीले प्रोटेक्सन इक्वीपमेन्ट जडानको लागि डिजाइनसमेत तयार पार्नेछ ।
अधिकारीका अनुसार पछिल्लो समय इनर्जी बैंकमा भारत सकारात्मक बन्दै गएको छ । नेपालबाट विद्युत लैजाने सोचका साथ नै प्रोटेक्सन इक्वीपमेन्ट जडान गर्ने कुरा अगाडि बढाएको उनको भनाइ छ । उनले भने, ‘यसअघि भारतीय अधिकारीहरुले नेपालबाट विद्युत लाने कुरा गर्दैनथे, तर यसपालि भने उनीहरु नेपालबाट विद्युत लाने योजनामा रहेको पाएको छु ।’
भारतले इनर्जी बैंक अगाडि बढाउनुपूर्व नेपालका सबस्टेशनमा प्राटेक्सन इक्वीपमेन्ट जडान गर्न भनेको छ । किनकी, नेपालबाट भारतमा विद्युत् पठाउँदा यहाँको सबस्टेशनमा आएको समस्याले त्यहाँको सिस्टमलाई पनि असर गर्छ । त्यही रोक्नको लागि नै यस्तो प्रोटेक्सन इक्वीपमेन्ट जडान गर्न लागिएको हो ।
इनर्जीको खरिद बिक्री नगरी चाहिएको समयमा बिजुली ल्याउने र पछि सोही बराबरको विजुली फिर्ता गर्ने गरी इनर्जी बैंंकको अवधारणा अगाडि सारिएको छ । वर्षातका समयमा स्वदेशी आयोजनाबाट हिउँदको तुलनामा दुईगुणा बढी विद्युत् उत्पादन हुन्छ । वर्षातकै समयमा भारतमा विद्युतको उच्च माग हुन्छ । यो समयमा भारतमा गर्मी बढ्ने हुँदा कुलर, एसी र फ्यानको प्रयोग बढ्छ । जसले हृवात्तै माग बढाइदिन्छ ।
भारतलाई पछिल्लो समय वर्षातको समयमा विद्युत व्यवस्थापन गर्नु निकै चुनौतिपूर्ण बन्दै गएको छ । यस्तो समयमा नेपालमा उत्पादन भएको बिजुली भारत र्पुयाउनसके उसलाई केही राहत पुग्नसक्ने देखिन्छ । यता नेपालमा भने ४५६ मेगावाटको माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि वर्षातको समयमा रातको बिजुली खेर जाने धेरैको आकलन छ । वर्षातको समयमा यो आयोजनाबाट ४५६ मेगावाट नै उत्पादन भएपनि हिउँदमा भने यो आयोजनाबाट एक तिहाइ पनि विद्युत उत्पादन हुदैन ।
र, स्वदेशी अन्य आयोजनाको पनि विद्युत उत्पादन घट्छ । जसका कारण जलाशययुक्त आयोजनाको निर्माण नहुँदासम्म प्राधिकरणलाई हिउँदको समयमा विद्युत व्यवस्थापन गर्न कठिन छ । यसको लागि भारतको बिजुली आयात गर्नु नै अहिलेका लागि उपयुक्त विकल्प हो । भारतले अहिले उच्च मात्रामा प्रदुषण बढाएको भन्दै कोइला र फर्निस आयलबाट बिजुली उत्पादन गर्न निषेध गरेको छ । योसँगै कैयन उद्योगधन्दाले गर्दै आएको विजुली उत्पादन बढेको छ । ग्रामीण विद्युतीकरणका कारण भारतको माग उच्च बन्दै गएको छ । यसका लागि वर्षातमा नेपालको बिजुली लान सके उसलाई पनि धेरै फाइदा पुग्ने देखिन्छ ।
वर्षातमा नेपालमा बिजुली बढी हुने समयमा भारतलाई बढी विद्युत चाहिन्छ । हिउँदमा नेपालमा विद्युत उत्पादन कम हुन्छ भने भारतमा यही समयमा हिउँदको तुलनामा विद्युत माग कम हुन्छ । त्यसैले वर्षातमा नेपालको बिजुली भारत पठाउने र हिउँदमा सोहि मात्रा बराबरको बिजुली नेपाल ल्याउने गरी इनर्जी बैंक अगाडि बढाउन लागिएको छ । यसो गर्दा दुवै देशले बिजुली खरिद गर्नु पर्दैन । बिजुली प्रदान गर्ने राष्ट्रलाई प्रसारण शुल्क कायम गर्ने कि भनेर छलफल भइरहेको अधिकारी बताउँछन् ।
।