सूचनाको शक्ति - The Power Of Information

        

फेरि बढ्यो कोरोनाको जोखिम

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकलाई सर्तक हुन र कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउन सरकारले सर्वसाधारणलाई अपिल गरेको छ ।

बुस्टर डोज लिएकाहरू मात्र भाइरसबाट सुरक्षित रहन सक्ने भएकाले बाँकी सवैलाई छिटो खोप दिने तयारी भइरहेको मन्त्रालयका सह-प्रवक्ता समीर कुमार अधिकारीले बताए ।

भारतमा संक्रमण फैलिएपछि नेपालमा छिटो संक्रमण फैलिन सक्ने भएकाले सबैले समयमै खोप लिएर सुरक्षित हुनुपर्ने अहिलेको उपाय भएको डा. अधिकारीले बताए ।

कोभिड १९ बिरुद्धको खोप एक व्यक्तिमा तीन मात्रा लिएपछि सुरक्षित रहन सकिने भए पनि कुनै खोप लिएको ६ महिनापछि खोपको एन्टिबडी घट्दै जाने भएकाले विज्ञहरूले थप अतिरिक्त मात्रा बुस्टर डोज दिनुपर्ने सुझाव दिएका छन् ।

केही महिनाअघि नेपाल सरकारले पनि आवश्यक जनसंख्यालाई चौथो डोजको खोप दिने निर्णय गरिसकेको थियो। पछिल्लो ६ महिनादेखि विश्वभरि कोभिड संक्रमण घट्दै गएपछि नेपालले खोप अभियान सुस्ताएको परिवार कल्याण महाशाखा खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले बताए ।

‘बीचमा खोप अभियान सुस्ताएकाले लक्षितको कम जनसंख्याले मात्र बुस्टर डोज खोप लिएको अवस्था छ,’ उनले भने ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ०७:१५