सूचनाको शक्ति - The Power Of Information

        

शुक्लाफाँटा निकुञ्जमा कृत्रिम ताल थपिँदै

फाइल तस्बीर

कञ्चनपुर । वन्यजन्तुलाई पानीको तिर्खा मेटाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ । वन्यजन्तुको वासस्थान व्यवस्थापनअन्तर्गत यहाँ चालू आर्थिक वर्षमा ६ वटा ताल निर्माण भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिए ।
निकुञ्जभित्रको रानी ताल र सालगौडी ताल व्यवस्थापन गरी थप सुविधायुक्त बनाउनसमेत बजेट आएको उनले बताए । निकुञ्जभित्र यसअघि विभिन्न सयमा गरेर करीब एक दर्जन ताल निर्माण भइसकेका छन् । ‘चालू आवमा ६ वटा ताल खनिँदैछन्,’ उनले भने, ‘कृत्रिम तालका कारण वन्यजन्तुलाई सहज भएको छ ।’ शुक्लाफाँटामा प्राकृतिक र कृत्रिम गरी करिब दुई दर्जन ताल छन् ।
शुक्लाफाँटा भएर चौधर नदीसमेत बग्छ । खडेरीका कारण वन्यजन्तुलाई पानी पिउन समस्या नहोस् भनेर ताल थप्ने क्रम जारी छ । आवश्यकताअनुसार निकुञ्जको अण्डैया, लालपानी, बर्कौलालगायत क्षेत्रमा ताल बनाइनुका साथै पानी तान्न ट्युवबेलको प्रबन्ध मिलाइएको छ । ठेक्का प्रक्रियामार्फत हरेक वर्ष यहाँ ताल निर्माण भइरहेका छन् ।
‘गर्मी मौसममा पानीका मुहान सुक्नाका साथै डढेलोबाट वन्यजन्तु प्रभावित हुने गर्छन्,’ घिमिरेले भने, ‘अहिले कृत्रिम तालमा पानी भरेर वन्यजन्तुका लागि सहज बनाएका छौँ ।’ निकुञ्जभित्रका रानी ताल, बठनिया ताल र बाबा ताल संरक्षणको अभावमा पुरिँदै गएका छन् । बजेट अभावले निकुञ्ज प्रशासनले यहाँका प्राकृतिक तालको संरक्षण एवं संवद्र्धन गर्न सकिरहेको छैन ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार ०८:२४