सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

देउवा सत्तामोहमा लोभिएपछि संसदको ठूलो दल कांग्रेस प्रतिपक्षमा

यदि, देउवाले प्रधानमन्त्री छोडेर गठबन्धन जोगाउन निर्णय गरेको भए सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउने थिएन ।

सभापति शेरबहादुर देउवाको सत्तामोहका कारण संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सबथोक गुमाएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने भएपछि कांग्रेस प्रतिपक्षी बेञ्चमा रहने भएको हो ।

प्रचण्डसँग गरेको सहमति पूरा गर्न देउवा तयार नहुँदा कांग्रेसले संघीय सरकार र प्रदेश सरकार बनाउने अवस्था आएको हो ।

सत्ता समीकरण फेरबदल भएसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र उपसभामुखलगायतको सबै पद कांग्रेसले गुमाउने अवस्था बनेको छ ।

माओवादी र एमाले एक ठाउँमा हुने बित्तिकै सुदूरपश्चिमबाहेक सबै प्रदेशमा कांग्रेस प्रतिपक्षी बनेको छ । सुदूरपश्चिममा भने नागरिक उन्मुक्ति पार्टी निर्णायक भएकाले त्यहाँ कसको सरकार बन्छ भन्ने टुङ्गो छैन ।

कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच पहिलो कार्यकालमा प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति भएको थियो । तर, अन्तिम समयमा देउवाले प्रधानमन्त्री नछोड्ने भएपछि माओवादी एमालेसँग सहकार्य गर्न पुगेको हो ।

गठबन्धनको बैठकमा देउवाले बारम्बार ‘साथीहरूले प्रधानमन्त्री नछोड्न दबाब दिएका छन्’ भन्दै प्रधानमन्त्री दाबी गरिरहेका थिए । तर, कांग्रेसको परम्परा हेर्दा र देउवाको निर्णय गर्ने परिपाटी हेर्दा देउवा एक्लैले निर्णय गरेपछि त्यो निर्णय कांग्रेसको निर्णय हुने गरेको छ ।

यदि, देउवाले प्रधानमन्त्री छोडेर गठबन्धन जोगाउन निर्णय गरेको भए सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउने थिएन । तर, देउवा अन्तिम अवस्थामा लोभिएका कारण कांग्रेसले सबथोक गुमाएको छ ।

प्रकाशित मिति : १० पुष २०७९, आइतवार १८:३६