सूचनाको शक्ति - The Power Of Information

        

नदीजन्य पदार्थको दोहनविरुद्ध बैजनाथ गाउँपालिका घेराउ

बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित मानखोलामा अवैध तरिकाले नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसार हुने गरेको छ ।

अवैध नदी उत्खनन कार्यले नदीजन्य समस्या उत्पन्न भएको भन्दै स्थानीयले यसको नियन्त्रणका लागि गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।

एक्साभेटर लगाएर नदीजन्य पदार्थको अवैध उत्खनन् र ओसारपसार भइरहेको गुनासो उठे पनि गाउँपालिका, प्रहरी र प्रशासन मौन देखिएको स्थानीयवासीको आरोप छ ।

स्थानीय पूर्णप्रसाद कोइरालाले नदीजन्य पदार्थ गिट्टी र बालुवाको तस्करीविरुद्ध आवाज उठाउने स्थानीयवासीलाई कुटपिट गर्ने र मार्नेसम्मको धम्की दिने गरेकोले गाउँपालिका घेराउ गरी पालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाइएको जानकारी गराए ।

राति १२ बजेपछि एक्साभेटर खोलामा लगेर दैनिक रूपमा नदीजन्य पदार्थ लैजाने गरिएको कोइरालाले भनेका छन् । स्थानीय प्रहरीले समेत सो कार्य रोक्न चासो नदिएको स्थानीहरुको आरोप रहेको छ ।

मानखोलामा गरिएको जथाभावी दोहनले जब्दहवा, पहाडीपुर र कन्याराज गाउँ जोखिममा परेका छन् । बालुवा र गिट्टी झिकेको खाल्टोमा डुबेर दुई बाल बालिकाको मृत्यु भइसकेको छ ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश शाहीले आफूलाई यसअघि पनि सोही घटनाका सम्बन्धमा स्थानीयवासीको गुनासो प्राप्त भइसकेकोले अब प्रहरी प्रशासनको सहयोगमा रोक्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १६:४०