सूचनाको शक्ति - The Power Of Information

        

सरकार गठन

प्रधानमन्त्रीको लिगलिगे दौडमा को–को ?

प्रतिनिधिसभाका कुल २ सय ७५ सदस्य

राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिँदै राजनीतिक दललाई सरकार गठनका लागि आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आइतबार संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न आह्वान गर्दै दललाई १० पुस साँझ ५ बजेसम्मको समय दिएकी हुन् ।

राष्ट्रपतिको आह्वानसँगै प्रमुख राजनीतिक दलका शीर्ष नेता प्रधानमन्त्रीको लिगलिगे दौडमा लागेका छन् । उनीहरूबीच प्रधानमन्त्री को हुने भन्नेमा प्रतिस्पर्धा देखिएको छ ।

विशेषगरी सत्तागठबन्धनको मुख्य दल नेपाली कांग्रेस, एमाले तथा माओवादीका शीर्ष नेताबीच प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा देखिएको हो ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै पनि राजनीतिक दलको बहुमत नआएपछि राष्ट्रपति भण्डारीले धारा ७६ को उपधारा २ अनुसार १० पुस साँझ ५ बजेभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संविधानको धारा ७६ (२) को व्यवस्थाअनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने जोसुकै प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री बन्न सक्नेछन् ।

प्रतिनिधिसभाका कुल २ सय ७५ सदस्य छन् । त्यसमध्ये सरकार गठन गर्न साधारण बहुमत अर्थात् १ सय ३८ जनाको समर्थन आवश्यक पर्छ ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थन पेस गर्न सक्ने सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नेछन् ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : ४ पुष २०७९, सोमबार ०८:१२