नेपालगन्जस्थित भेरी अस्पतालमा दुई महिना अघि जडान गरिएका ६ थान डायलासिस मेसिन हालसम्म पनि सञ्चालनमा नआउँदा मिर्गौलाका बिरामीलाई समस्या भएको छ । डायलासिस मेसिन सञ्चालनमा नआउँदा डायलासिसका लागि लामो समयदेखि पालो पर्खेर बसेका बिरामी समस्यामा परेका हुन् ।
नयाँ मेसिन सञ्चालनमा आएपछि दैनिक थप १५ जना मिर्गौलाका बिरामीले डायलासिस सेवा पाउने अस्पतालले जनाएको छ । डायलासिसका लागि आवश्यक पर्ने पानी प्रशोधन गर्ने आरओ प्लान्ट जडान भएको एक महिना बितिसकेको छ, तर डायलासिस मेसिन अझैँ सञ्चालनमा आउन सकेका छैनन् ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईँले आरओ प्लान्टको पानी परीक्षणका लागि काठमाडौँ पठाएको एक महिना भइसकेको जनाउँदै उताबाट परीक्षणको रिपोर्ट आउने बित्तिकै मेसिन सञ्चालनमा ल्याइने बताए । पुसको पहिलो साताबाट नयाँ ५ वटा मेसिनबाट डायलासिस सुरु गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रमुख डा.चापागाईँका अनुसार नयाँ मेसिन पुरानो आइसियु कक्षमा राखिएको छ, छ वटा नयाँ मेसिनमध्ये पाँच वटा मात्र अहिले सञ्चालनमा ल्याइनेछ । नयाँ मेसिन जडान भए दैनिक थप १५ जना मिर्गौलाका बिरामीले डायलासिस सेवा पाउने छन् । यसबाट पालो पर्खेर बसेका धेरै विपन्नले सेवा पाउने छन् ।
बिरामीले नयाँ मेसिन छिटो सञ्चालन गर्न पटक पटक आग्रह गरिरहेका छन् तर मेसिन जडान भएको दुई महिना बिते पनि अझैँ सञ्चालन नहुँदा धेरैको स्वास्थ्य अवस्था निकै गम्भीर चरणमा पुगिसकेको छ । भेरी अस्पतालमा जडान भएका डायलासिस मेसिन छिटो सञ्चालनमा ल्याउनुपर्ने बिरामीहरुको माग रहेको छ ।
यस्तै कोहलपुर मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा गत एक महिनादेखि बन्द रहेको डायलासिस सेवा पुनः सञ्चालनमा आएको छ । डायलासिस बन्द हुँदा ३३ जना मिर्गौला पीडितको मृत्यु भएको थियो । अस्पतालका सूचना अधिकारी सञ्जय पन्तले बन्द रहेको डायलासिस सेवा पुनः सञ्चालनमा आइसकेको जानकारी दिँदै सेवा सुचारु रहेको बताए ।
सत्यपाटी संवाददाता । बाँके