सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीमा दाजुभाई, सम्धीसम्धिनी र नन्दभाउजु बने सांसद

लुम्बिनी प्रदेशसभामा यसपटक एकै परिवारका सदस्यहरूले सांसदका रुपमा प्रवेश गर्ने भएका छन् । एउटै राजनीतिक दलबाट प्रत्यक्षमा निर्वाचित दुई दाजुभाई, प्रत्यक्ष र समानुपातिकबाट सम्धीसम्धिनी र फरक फरक दलको समानुपातिक कोटाबाट सांसद बनेका नन्द भाउजु प्रदेशसभामा सँगै देखिने भएका हुन् ।

प्रदेशसभा सदस्यमा एमालेबाट प्रत्यक्षमा निर्वाचित भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ एकै घरका दुई दाजुभाइ हुन् । पूर्वी पाल्पाको रामपुर नगरपालिकाका भोजप्रसाद र राजुप्रसाद एमालेमा लामो समयदेखि आबद्ध थिए । भोजप्रसाद लामो समयदेखि बुटवलमा आई राजनीतिमा सक्रिय बनिरहँदा राजुप्रसादले भने पाल्पाबाटै सक्रिय राजनीतिमा थिए ।

श्रेष्ठ दाजुभाई एकै पटक लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । भोजप्रसाद रुपन्देही २ (ख) बाट निर्वाचित हुँदा भाई राजुप्रसाद पाल्पा १ (क) बाट निर्वाचित भएका हुन् । ०५४ सालमा तत्कालिन बुटवल नगरपालिकाको मेयरमा निर्वाचित भएका भोजप्रसाद यसअघि ०७४ सालमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

उनी शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए । भाई राजुप्रसादको भने पहिलो संसदीय यात्रा हो । एमालेबाटै प्रत्यक्ष निर्वाचित भूमिश्वर ढकाल र समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी बसन्ती अधिकारी सम्धी सम्धिनी हुन् । ढकालकी छोरी र अधिकारीका छोरा अघिल्लो वर्ष वैवाहिक सम्बन्धमा बाँधिएका थिए ।

उनीहरू पनि अहिले सँगसँगै प्रदेशसभा सदस्य बन्ने मौका पाएका छन् । ढकाल रूपन्देही ५ (क) बाट प्रत्यक्षमा निर्वाचित हुँदा अधिकारीलाई एमालेले बाँकेबाट समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनाएको हो । यसअघि ०७४ सालमा पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका ढकालले एमालेबाट प्रदेश सभामा प्रमुख सचेतक रहेर जिम्मेवारी निर्वाह गरेका थिए ।

अधिकारीको भने संसदीय यात्रा पहिलो हो । बाँकेमा रही अखिल नेपाल महिला संघ हुँदै एमालेको राजनीतिलाई अगाडि बढाएकी अधिकारी यसअघि नै स्थानीय तह र प्रदेशमा समेत उम्मेदवारको दाबी गर्दै आएकी थिइन् । यसपटक भने ढकालले गरेको लबिङ र जोडबलका कारण अधिकारीलाई समानुपातिकबाट सांसद बन्न सहज बनेको एमालेका एक नेताले बताए ।

‘पार्टीमा गरेको योगदान र उनीमा भएको क्षमताको बारेमा प्रश्न गर्ने ठाउँ छैन तर नेताहरूका परिवार, आफन्त र नातागोताले मात्रै अवसर पाउँदा आफ्ना कोही नभई राजनीति मात्र गरेकाहरू सधैँ अवसरबाट बञ्चित हुने गरेका छन्,’ ती नेताले भने । लुम्बिनी प्रदेशसभामा समानुपातिक कोटाबाट सांसद बनेका भगवती घिमिरे र जानकी न्यौपाने नातामा नन्दभाउजू हुन् ।

न्यौपाने नन्द हुन् भने घिमिरे भाउजू हुन् । लामो समय एउटै संगठन र पार्टीमा काम गरी अनेमसंघको जिल्ला र केन्द्रीय नेतृत्वमा समेत पुगेका न्यौपाने र घिमिरे प्रदेशसभा सदस्यमा भने दुई फरक राजनीतिक दलबाट सिफारिस भएका हुन् । न्यौपानेलाई एमालेले प्रदेशसभा सदस्य बनाउँदा घिमिरेलाई एकीकृत समाजवादीले प्रदेशसभा सदस्य बनाएको हो ।

घिमिरेले एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेकी थिइन् । एकीकृत समाजवादी पार्टीमा केन्द्रीय सदस्य रहेकी घिमिरे प्रदेशसभामा सो पार्टीकी एक मात्र सांसद हुन् । एकीकृत समाजवादीले लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ सत्ता गठबन्धनबाट एउटा पनि सिट पाएको थिएन ।

समानुपातिकबाट पाएको एकमात्र सिटमा घिमिरेलाई पठाएको हो । यस्तै, एमालेबाट सिफारिसमा परेकी न्यौपाने निवर्तमान प्रदेशसभा सदस्य डा.कृष्ण न्यौपानेकी पत्नी हुन् । अनेमसंघकी केन्द्रीय सदस्य रहेकी जानकीलाई समानुपातिकमा सुरक्षित गरेर कृष्णले अहिले पनि प्रत्यक्षमा निर्वाचन लड्न पहल गरेका थिए ।

तर, राप्रपासँगको तालमेलमा रूपन्देही १ (क) राप्रपाका आशिष चौधरीलाई छोड्दा पछि श्रीमतीको समानुपातिक सिट सुनिश्चित गरिदिएका थिए । १२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ८७ जना सांसद छन् । प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ जना सांसद रहेको लुम्बिनी प्रदेशसभा यसपटक भने दाजु–भाई, नन्द–भाउजु र सम्धी–सम्धिनीको जम्काभेट हुने भएको हो ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार १६:०४