निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै सत्ता गठवन्धनका दलहरु पद बाँडफाँडको जोड घटाउमा लागेका छन् । सत्ता गठवन्धनलाई नै निरन्तरता दिने निर्णय भए पनि प्रधानमन्त्री पदमा भने सहमति जुट्न सकेको छैन ।
तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफू पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने दाउमा छन् । उता कांग्रेस सभापति शेरबहादुर देउवा पनि पहिलो दल बनेको हिसाबले पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने दाउमा छन् ।
प्रधानमन्त्रीसँगै राष्ट्रपति र सभामुख लगायत पद कसले पाउने भन्ने चासो र चर्चाको विषय बनेको छ । माओवादीले सभामुख पाउने सम्भावना रहेको नेताहरु बताउँछन् । माओवादीले सभामुख पाएको खण्डमा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै दाङबाट निर्वाचित सांसद रेखा शर्मालाई अघि सार्ने तयारी छ ।
त्यस्तै, कांग्रेसबाट अर्जुननरसिंह केसीलाई सभामुख बनाउने तयारी रहेको नेताहरु बताउछन् । कांग्रेसले प्रधानमन्त्री पाए माओवादीलाई राष्ट्रपति र एकीकृत समाजवादीको भागमा सभामुख पर्ने नेताहरु बताउँछन् । समाजवादीले सभामुख पाए वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रकाश ज्वालामध्ये एकलाई अघि सार्ने तयारी छ ।
सत्यपाटी संवाददाता । काठमाडौं