सूचनाको शक्ति - The Power Of Information

        

के हो मुटु रोग ? आफैले कसरी थाहा पाउने ?

अहिले विश्वमा सबैभन्दा बढी मानिस मुटु रोगका कारण प्रभावित भएका छन् । व्यस्त जीवन शैली, अस्वस्थ खानपान, व्यायाम, योग लगायको कमीका कारण पनि मानिसहरुमा मुटु सम्बन्धी रोग लागिरहेको छ । संसारभरीमै सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले हुनेगर्छ ।

मुटुरोग प्राणघातक रोग हो, तर समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुखकारण मानिन्छ । जनचेतनाको कमिले मुटुरोगको समयमै पहिचान नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुनपुग्छन् । अधिकांश मुटुरोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् । मुटुरोग विशेषज्ञहरुले पनि यिनै लक्षणहरुको आधारमा मुटुरोग भए नभएको पत्ता लगाउँछन् ।

लक्षणहरुकै आधारमा केहीजाँचहरुको मद्दतले मुटुरोगको निदान गर्ने गरिन्छ । यी लक्षणहरुको बारेमा सामान्य जानकारी भएका आफ्नो मात्रै होइन नजीकका व्यक्तिलाई पनि सही सल्लाह दिएर प्राणघातक मुटुरोगको समयमै पहिचान र उचित उपचार गर्न सकिन्छ । छाती दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र बढी थकाइ लाग्नु, मुटुरोगका प्रमुख लक्षणहरु हुन् ।

तर कुनै एउटा लक्षण हुँदैमा मुटुरोग नै भयो सोच्नु गलत होला । लक्षणहरुको राम्रो विश्लेषण (समीक्षा) गरेमा सामान्य व्यक्तिले पनि मुटुरोग भएको शंका गरेर र आवश्यकता अनुसार चिकित्सको परामर्श लिन सक्नेछन् । लक्षणलाई समीक्षा गर्नुभन्दा अगाडि व्यक्तिमा मुटुरोगका जोखिमहरु के कति छन् पत्ता लगाउनु जरुरी हुन्छ ।

चुरोटको सेवन, मुधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मोटोपना, अत्याधिक मदीरापान, मानसिक तनाव, वंशाणुगत (परिवारमा मुटुरोग),उमेर ४० भन्दा बढी (पुरुष) र ५० भन्दा बढी (महिला)आदि रिस्क फैक्टर्स (जोखिमहरु)को बारेमा जानकारी लिनुपर्छ । एकभन्दा बढी जोखिमहरु भएमा मुटुरोगको झन् बढी संभावना हुन्छ ।

रिस्क फैक्टर्स बढी भएको व्यक्तिमा लक्षण साधारण भएपनि मुटुरोगकै शंका पहिला गर्नुपर्दछ । त्यसैगरी, रिस्क फैक्टर्स नभएका व्यक्तिमा अरु रोगको शंका पहिला गर्नु ठीक हुन्छ । छाती दुख्नु, पोल्नु वा दबाबको अनुभव गर्नु मुटुरोगको प्रमुख लक्षण मानिन्छ, तर यस्ता लक्षणको कारण पेटको समस्या (ग्यास्ट्रिक), मांसपेशी र करंङ्गको दुखाई, फोक्सो आदिले पनि हुनसक्छ ।

मुटुको दुखाई हिँड्दा वा उक्लिँदा बढ्ने र आराम गरेपछि कम हुने प्रकृतिको हुन्छ । खोक्दा, दुखेको ठाउँमा दबाउदा, हल्लिदा, सासफेर्दा मुटुको दुखाईमा परिवर्तन हुँदैन र मुटु बाहेकका कारणमा यस्तो हुनसक्छ । मुटुको दुखाइ छातीको बीच वा द्रेब्रे भागको ठूलो हिस्सामा दुख्ने, घाँटी वा हातमा दुखाई सर्ने हुन्छ ।

छातीको सानो भागमा ५ वर्ग सेमी क्षेत्रफलभन्दा कम भएमा प्रायः मुटुको नभएर मांसपेशीको दुखाइ ले हुन्छ । मुटुको दुखाई कहिलेकाँही माथिल्लो पेटमा (ग्यास्ट्रिकको ठाउँ) पनि हुनसक्छ । छाती दुख्नु सँगसँगै पसिना आउनु, स्वाँस्वाँ हुनु, मुटु ढुकढुक पनि भएमा मुटुरोगको कारणले हो बुझ्नुपर्छ । स्वाँस्वाँ हुनुको कारणमा फोक्सो, मोटोपना, गर्भावस्था, शारीरिक निष्कृयता, रगतको कमि (एनिमिया) प्रमुख हो ।

तर मुटु कमजोर भएमा (हार्टफेल्योर), रक्तचाप अत्याधिक भएमा पनि स्वाँस्वाँ हुनसक्छ । प्रायः उत्तानो सुत्दा बढ्ने हुन्छ वा अलिकति हिड्ने बित्तिकै स्वाँस्वाँ हुनु, थकाइलाग्नु मुटुरोगको लक्षण हुनसक्छ । आफ्नो उमेरको हिसाबले (दुरी–गति) हिड्न नसक्नु वाबीचमा रोकिने अवस्था आउनु मुटुरोगको लक्षण हुनसक्छ ।

मुटु ढुकढुक हुने प्रमुख कारण मानसिक तनाव, रगतको कमि, मोटोपना, दुब्लोपना, अनियन्त्रित रक्तचाप, गर्भावस्था, शारीरिक निष्कृयता आदिले हुन्छ । यस्तो अवस्थामा काम गर्दा, हिँड्दा ढुकढुक बढ्ने र आराम गर्दा कमहुने गर्दछ । तर मुटु रोगको कारणले ढुकढुक जुनसुकै बेला हुनसक्छ, प्रायः केही सेकेण्डको लागि मात्रै धड्कन रोकिएको जस्तो वा जोड्ले धड्किने वा छातीको बिचमा हलुङ्गो हुने वा स्वाँस रोकिएको जस्तो अनुभव हुने गर्दछ ।

स्रोत : एजेन्सीहरुको सहयोगमा
प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार ०९:२५