दक्षिण अमेरिकी मुलुक पेरुमा देशव्यापी संकटकाल लागू गरिएको छ ।
महाअभियोग लगाएर राष्ट्रपति पेद्रो क्यास्तिलोलाई पदबाट हटाएपछि सुरू भएको राजनीतिक उथलपुथल नियन्त्रणमा नआएपछि संकटकाल घोषणा गरिएको हो ।
त्यहाँका रक्षामन्त्री अल्बर्टो ओटारोलाले कुनै पनि आन्दोलन तथा सभा सम्मेलन गर्ने अधिकारहरु निलम्वन गर्दै ३० दिनका लागि संकटकाल लागू गरिएको घोषणा गर्नुभएको हो ।
सडक अवरुद्ध गर्ने अथवा तोडफोड गर्ने क्रियाकलाप भए कर्फ्यु लगाउने र कठोर कारबाही गर्ने पनि चेतावनी दिइएको छ ।
सशस्त्र सुरक्षाकर्मीको सहयोगमा प्रहरीलाई देशव्यापी रुपमा स्थितिलाई नियन्त्रणमा राख्ने अधिकार दिइएको पनि त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।
न्यायाधीशले पूर्व राष्ट्रपति क्यास्तिलोलाई विद्रोह र षडयन्त्रको अभियोगमा जेलमै राख्न आदेश दिएपछि देशव्यापी प्रदर्शन भड्किएको थियो ।
बामपन्थी राष्ट्रपति क्यास्तिोलाका समर्थकहरुले ताजा जनादेशका लागि चुनाव र आफ्ना नेता क्यास्तिलोको रिहाइएको माग गर्दै सडक कब्जा गर्दै आएका थिए ।
गत साता पेरुको संसदको ठूलो बहुमतले क्यास्तिलो विरुद्धको महाअभियोग पारित गर्दै उहाँलाई पदबाट हटाएको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौँ