आज बिहिबार नेपालगन्ज रंगशालामा हुन लागेको ‘नेपथ्य लाइभ कन्सर्ट’ हुँदैछ ।
कन्सर्टको सम्पुर्ण तयारी पुरा भएको आयोजले बताएको छ ।
मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगितिक कार्यक्रमको पुर्वसन्ध्यामा नेपालगन्ज रंगशालामा आयोजित पत्रकार सम्मेलनमा तयारी पुरा भएको आयोजकले जनाएको हो ।
नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा आश्रमले उक्त कन्सर्ट आयोजना गर्न लागेको हो । नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले अपरान्हबाट आफ्ना गीतहरु प्रस्तुत गर्नेछन् ।
सडक आश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।
गायक गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्ने पत्रकार सम्मेलनमा बताए । आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।
कन्सर्ट मुल आयोजक समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ लगायत विभिन्न समितिका पदाधिकारीले कन्सर्टको तयारीबारे पत्रकारलाई जानकारी गरेका थिए । दानवीर एवं समाजसेवी जे.के. सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि डुडुवा गाउँपालिका वडा नम्बर ६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया सुरु हुन लागेको छ ।
सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने महाअभियानसहित मानवसेवा आश्रमले बैशाख १ गतेबाट नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १० मा घर भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ ।
सुरक्षा तथा समारोेह स्थल व्यवस्थापन समितिका संयोजक जयनारायण शाहले बिहीबार अपरान्ह साढे ५ बजेभित्र सबै दर्शक कार्यक्रम स्थलमा प्रवेश गरिसक्नुपर्ने बताए । कार्यक्रममा सहभागी हुन आउने दर्शकले प्रयोग गर्ने सवारी साधन पार्किङ गर्ने ब्यवस्था रामलिला मैदानमा मिलाइएको उनले जानकारी गराए ।
कार्यक्रम स्थलमा कन्सर्टको लामो भिडियो रेकर्ड तथा लाईभ गर्न, पानीका बोतल, चाउचाउ लगायतका प्याकिङ गरिएका खानेकुरा लैजान पूर्ण रुपले निषेध गरिएको शाहले बताए ।
सत्यपाटी संवाददाता । काठमाडौँ