सूचनाको शक्ति - The Power Of Information

        

अपराध अनुसन्धानमा असफलता

निर्मला हत्या प्रकरणमा जटिल बन्दै प्रहरी अनुसन्धान

हालसम्म एक दर्जन बढी प्रहरी अधिकारीहरुले निर्मला प्रकरणको अनुसन्धान गरेका छन् । तर कसैले पनि नयाँ ‘क्लु’ फेला पार्न सकेका छैनन् ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले ७०० जनासँग बयान तथा सोधपुछ गरेको छ । जसमध्ये १५० बढी महिला छन् ।

अनुसन्धानमा सेना, प्रहरी, शिक्षक, सरकारी कर्मचारीसँग पनि सोधपुछ गरिएको छ । यसबाहेक निर्मलाका नजिकका आफन्तलाई पनि अनुसन्धानको दायरामा ल्याइएको थियो । हालसम्म १३५ जनाको डीएनए परीक्षण गरेको उच्च प्रहरी अधिकारीहरु बताउँछन् । हालसम्म कसैको पनि डीएनए निर्मलाको शरीरबाट निकालिएको स्वावसँग मेल खाएको छैन ।

०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् । उनी त्यहाँबाट भासी जाने भन्दै निस्किएकी थिइन् । तर साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दुरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन् । अनुसन्धान र मेडिकल रिपोर्टबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।

प्रहरीले अहिलेसम्म डीएनए परीक्षणलाई नै मुख्य पाटो मानेको छ । घटनाबारे प्रहरी अधिकारीहरुकै मत अनुसन्धानका क्रममा बाझिँदै आएका छन् । घटनाको जिल्ला प्रहरी, सीआईबी र प्रदेश प्रहरीको टोलीले अनुुसन्धान गर्दै आएको छ । प्रहरीले ०७५ भदौमा ३९ वर्षीय दिलिपसिंह विष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । तर निर्मलाको स्वाबसँग डीएनए नमिलेपछि उनी छुटेका थिए ।

हालसम्म एक दर्जन बढी प्रहरी अधिकारीहरुले निर्मला प्रकरणको अनुसन्धान गरेका छन् । तर कसैले पनि नयाँ ‘क्लु’ फेला पार्न सकेका छैनन् । आशंकाका भरमा विभिन्न व्यक्तिहरु पक्राउ परेपनि प्रर्याप्त प्रमाणको अभावमा उनीहरु छुट्दै आएका छन् । अनुसन्धानमा संलग्न सबैजसो प्रहरी अधिकारीहरु स्थानीय, परिवारका सदस्यको सहयोग नपाएको गुनासो गर्दै आएका छन् ।

अनुसन्धानमा रहेर काठमाडौं फर्किसकेका एक उच्च अधिकारीले भने, ‘परिवारका सदस्यसँग हामीले घरमा आउने जानेहरुको बारेमा धेरै पटक जानकारी माग्यौं । तर उहाँहरु प्रहरीले हत्यारा समात्न सक्दैन भनेर केही बताउन चाहनुहुन्न । त्यसबाट पनि केही खुल्न सक्थ्यो कि भन्ने हाम्रो विश्वास हो ।’ यसबाहेक सूचना संकलनमा पनि पर्याप्त मात्रामा स्रोत साधनको अभाव भएको अधिकारीहरुको बुझाई छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १५:३१