सूचनाको शक्ति - The Power Of Information

        

अर्जेन्टिना र नेदरल्यान्ड्सलाई फिफाको अनुशासन कारबाही

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सको फुटबल टोलीलाई अनुशासनको कारबाही गर्ने भएको छ ।

कतारमा जारी विश्वकपको क्वार्टरफाइनल खेलको दौरानमा अनुशासन उल्लंघन गरेको भन्दै फिफाले दुवै टोलीलाई जरिवाना तिराउने निर्णय गरेको हो ।

कारबाही स्वरुप दुवै टोलीलाई १६ हजार अमेरिकी डलरसम्म जरीवाना हुन सक्नेछ । तर खेलाडीहरुलाई भने प्रतिबन्ध नलगाइने फिफाले जनाएको छ ।

शुक्रबार राति भएको तनावपूर्ण खेलमा १७ वटा पहेंलो कार्ड देखाईएको थियो । नेदरल्याण्ड्सका डेन्जेल डम्फ्रीजले रातो कार्ड पाएको उक्त खेलमा नेदरल्याण्ड्स पेनाल्टी सुट आउटमा पराजित भएको थियो ।

खेलको अन्तिम समयमा नेदरल्यान्ड्सले गोल गर्दै खेल अतिरिक्त समयमा पु¥याएपछि अर्जेन्टिनाको बेन्चमा भएका खेलाडी मैदानमा प्रवेश गरेर विवादमा उत्रिएका थिए ।

यस्तै, पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएपछि पनि विवाद भएको थियो । फिफाले खेलाडीहरुलाई प्रतिबन्ध नलगाउने बताएसँगै अर्जेन्टिनालाई क्रोएसियाविरुद्धको सेमिफाइनल खेलपूर्व केही राहत महसुस भएको छ ।

नेदरल्याण्ड्स पराजित भएपछि उक्त टोलीका खेलाडीहरुलाई जिस्क्याएका अर्जेन्टाइनी खेलाडीहरु निकोलस ओटामेण्डी र लियान्द्रो परेदेशलाई फिफाले केही म्याचको प्रतिबन्ध लगाउनसक्ने अनुमान गरिएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार ०७:५२