सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाका पशुपति शमशेरले खुवाउने छन् नयाँ सांसदलाई शपथ

 ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने भएका छन् ।

प्रत्यक्ष निर्वाचित १६५ र दलहरुले समानुपातिक पद्धतिबाट निर्वाचित गर्न निर्वाचन आयोगका नाम बुझाएका ११० जनामध्ये ज्येष्ठ सदस्य उनै जबरा हुन् ।

यद्यपि, निर्वाचन आयोगले निर्वाचित सदस्यहरुको उमेर हेरेर ज्येष्ठ सदस्य तय गर्न बाँकी छ । सार्वजनिक विवरण अनुसार २७५ सदस्यमध्ये ज्येष्ठ सदस्यका रुपमा जबरा देखिएका हुन् । उनी ८१ वर्षका भए । जबराको जन्म १९९८ वैशाख २५ गते (सन ७ मे १९४१) काठमाडौंको महाराजगंजमा जन्मिएका थिए ।

प्रत्यक्षका १६५ र समानुपातिकका ११० जना गरी २७५ सदस्यीय प्रतिनिधिसभा सदस्यको अन्तिम नामावली तय भएपछि निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।

सँगसँगै आयोगले संघीय संसद सचिवालयमा पनि निर्वाचित सांसदहरुको विवरण पठाउँछ । जहाँ सांसदहरुको उमेरसहितका व्यक्तिगत विवरण पनि समावेश हुन्छ ।

निर्वाचन आयोगले विवरण पठाएपछि संघीय संसद सचिवालयले निर्वाचितहरुमध्ये सबैभन्दा ज्येष्ठ सदस्य पहिचान गर्छ । ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनुपर्ने हुन्छ ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार संसद सचिवालयले ज्येष्ठ सदस्य पहिचान गरेर शपथको मिति समेत प्रस्ताव गरेर राष्ट्रपति कार्यालयलाई पत्र पठाउँछ ।

त्यस अनुसार राष्ट्रपतिले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने हो । यसका लागि संघीय संसद सचिवालयले विशेष कार्यक्रमको आयोजना गर्ने अभ्यास छ ।

जबरा अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका नाति र विजय शमशेर जबराका छोरा हुन् । ज्येष्ठ सदस्यको रुपमा उनले प्रतिनिधिसभा सदस्यहरुलाई शपथ खुवाउनुका साथसाथै सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभा बैठकको नेतृत्व समेत गर्ने अवसर प्राप्त गर्नेछन् ।

जबरा ती व्यक्ति हुन जसले मुलुकमा २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि पञ्चायत समर्थकको अगुवाइ गर्दै राप्रपा गठन गरेका थिए । जबरा पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय थिए ।

जबरा पञ्चायत कालमा पर्यटन तथा यातायात मन्त्री र पञ्चायत तथा स्थानीय विकास मन्त्री भएका थिए । नेपालमा बहुदलीय व्यबस्था आएपछि पनि उनी अर्थ मन्त्री, परराष्ट्र मन्त्री र जलस्रोतथ तथा सञ्चार मन्त्री भएका थिए ।

यसपटक राप्रपाले जबराको नाम समानुपातिक उम्मेदवारहरुको खस आर्यमा पहिलो नम्बरमा राखेको थियो । प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले सामानुपातिक तर्फ पनि सात सिट पाएको छ ।

पहिलो नम्बरमा भएका कारण जबराले पुनः प्रतिनिधि सभा सदस्य हुने अवसर प्राप्त गरेका हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतवार १८:०७