सूचनाको शक्ति - The Power Of Information

        

बिहे भोजमा प्रयोग भएको पानीमा हैजाको जीवाणु

पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ ।

बिहेको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ ।

गत शनिवार बिहे भोज खाएपछि पाल्पा र प्यूठानका १५० जना बिरामी परेका थिए । बिहेको भोजमा २ वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए ।

बगनासकाली–१ घोरबन्दाका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएर १५० बढी बिरामी भएका थिए । प्यूठानबाट आएका जन्ती र पाल्पाका गाउँले र आफन्त बिरामी भएका थिए ।

उनीहरूलाई पेट दुख्ने, बान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने भएको थियो । बिरामीमध्ये ३४ जना पाल्पा मिसन अस्पतालमा उपचार गराएका थिए । बिरामीको दिसा परीक्षणमा पनि आउँको किटाणु देखिएको थियो ।

चिकित्सकले पनि आउँको किटाणु देखिएपछि पानीकै खराबी भएको हुनसक्ने बताएका थिए । बिहे भोजमा प्रयोग भएको खानेकुराको भने परीक्षण गरिएको थिएन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाले खानेकुरा सडेका कारण परीक्षण नगरेको जनाएको छ । कार्यालयका प्रमुख नरेश श्रेष्ठले ढिलो गरी सूचना पाएकाले खानेकुराको परीक्षण नगरिएको बताए ।

बिरामी भएको गाउँमा बगनासकाली गाउँपालिका स्वास्थ्य शाखाले घरघरमा स्वास्थ्यकर्मी खटाएर १०० बढीको उपचार गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १९:५१