सूचनाको शक्ति - The Power Of Information

        

मेहलकुना अस्पतालको भवन निर्माण अलपत्र

५० शैय्या विस्तारसँगै संरचना अभाव भएपछि ६ बर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । तत्कालीन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, सुर्खेत र एन.के. लोहनी के.एस.के जेवी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो ।

५० बेड क्षमतामा स्तरोन्नतिसहित निर्माणधीन मेहलकुना अस्पतालको भवन निर्माणका लागि आव २०७३–०७४ मा २८ करोड लागत अनुमान गरिए पनि ठेकेदार कम्पनीले २१ करोड १६ लाखमा ठेक्का सम्झौता भएको थियो । तर हालसम्म भवनको ६० प्रतिशत मात्रै प्रगति भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी कमल सुवेदीका अनुसार तत्कालीन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, सुर्खेत र एन.के. लोहनी के.एस.के जेवी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएको अस्पतालको भवन निर्माण कार्य भने अलपत्र अवस्थामै छ । आव २०७६–०७७ मा भवन निर्माण सक्ने लक्ष्य लिएको भए पनि अझै काम बाँकी नै छ ।

गुर्भाकोट नगरपालिकास्थित मेहलकुनामा निर्माणाधिन अस्पताल भवनमा पाँच वटा ब्लक छन् । निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीका कारण मेहलकुना अस्पतालको निर्माणाधीन भवन ढिलासुस्तीको नमुना बनेको स्थानीयहरु बताउँछन् । समयमै निर्माण कार्य नसकिएर योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ ।

भौतिक संरचना अभावमा उपचारमा समस्या आएपछि भवन निर्माण थालिए पनि समयमै निर्माण नसकिँदा सेवा प्रवाहमै समस्या भइरहेको मेहलकुना अस्पताल व्यवस्थापन समितिका सदस्य बृखबहादुर नेपालीले बताए । उनले पटकपटक ताकेता र समन्वय गर्दा समेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन अलपत्र परेको बताए ।

सदस्य नेपालीले भने, ‘ठेकेदारले पर्याप्त मात्रामा मजदुर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्दा भवन निर्माणमा ढिलाइ भएको छ,’ उनले भने, ‘करोडौंको योजनामा झारा टार्ने शैलीमा काम गरेका छन् ।’ ५० शैय्या क्षमता भए पनि २२ शैय्याको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको सदस्य नेपालीले बताए ।

भवन निर्माणमा भएको ढिलाइले सेवा प्रवाहमा असर परेको सदस्य नेपालीले बताए । समयमा उपचार गर्न सहज होस् भनि निर्माण थालिएको भवनको निर्माण कार्य कार्य अलपत्र परेपछि स्थानीयहरुमा चिन्ता समेत बढेको छ । सरकारले मेहलकुना अस्पताललाई १५ जेठ ०७३ मा १५ शैय्याबाट ५० शैय्यामा विस्तार गरेको थियो ।

लामो समयदेखि निर्माण हुन नसकेको मेहलकुना अस्पताल भवनको यसै आर्थिक वर्ष २०७९÷०८० मा निर्माण कार्य सम्पन्न नभएमा ठेक्का सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढ्ने शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ, सुर्खेतका कार्यालय प्रमुख अमरबहादुर थापाले बताए ।

‘हामीले कार्यालयका तर्फबाट निर्माण कार्य अघि बढाउन निर्देशनसहित ताकेका गरिसकेका छौं,’ कार्यालय प्रमुख थापाले भने, ‘केही दिनदेखि भवन निर्माणको काम तीव्र गतिले अघि बढेको छ ।’ तोकेको काम पूरा नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, धरौटी जफत गरी क्षतिपूर्ति समेत भराउने गरी कारबाही प्रक्रिया अघि बढ्ने प्रमुख थापाले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १३:३९