सूचनाको शक्ति - The Power Of Information

        

डिपोमा इन्धन भरियो, जहाजमा ‘रिफिल’ भएन

टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन । नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो ।

भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ । त्यस्तै मङ्गलबार मात्रै निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण गर्दा इन्धन ‘रिफिल’ गर्न योग्य रहेको प्रमाणित भइसकेको छ । रिफल गर्न योग्य भएको कुरा एक हप्ताअघि नै नेपाल वायुसेवा निगमलाई जानकारी पनि गराइएको छ तर, पनि जहाजमा ‘रिफिल’ गर्न सकिएको छैन ।

नेपाल वायु सेवा निगम दाङका स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार निगमका दुई वटा जहाज एकैपटक ‘ग्राउन्डेड’ हुँदा हवाई सेवा नियमित भएको छैन । मङ्सिर महिनामा १७ गते शनिबार मात्रै हवाई उडान भयो । त्यसअघि र त्यसपछि जहाज नै आएको छैन । शनिबार आउँदा ‘डकुमेन्ट’का कुराहरु नमिल्दा रिफिल गर्न नसकिएको उनले बताए ।

उनका अनुसार अबको केही दिनमा नियमित हवाई सेवा सूचारु हुने र रिफिलको काम हुनेछ । उक्त डिपोमा ३० हजार लिटर र बाउजरमा १२ हजार लिटर इन्धन स्टोर गर्न सकिन्छ । एयरपोर्टबाटै इन्धन रिफिल गर्न थालेपछि यहाँको हवाई सेवा प्रभावकारी हुनेछ । यसअघि काठमाडौँबाटै इन्धन ल्याएर आउनुपर्ने अवस्था थियो ।

त्यसले गर्दा केही सिट काठमाडौँबाट खाली ल्याउनुपर्ने अवस्था थियो । त्यसले पनि हवाई भाडा महँगो हुँदै आएको थियो । अहिले एयरपोर्टमा १९ सिटे टुइनेटर मात्रै बस्ने गरेको छ । एयरपोर्टको धावनमार्ग ७५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन् ।

अहिले दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम रु.आठ हजार ८१० छ भने अधिकतम रु.१२ हजार ६६५ रहेको छ । काठमाडौँभन्दा दाङ आउँदा भने त्यसको रु.२०० बढी हुन्छ । काठमाडौँमा यात्रु सेवाबापत रु.५०० रहेको, दाङमा रु.३०० रहेकाले काठमाडौँबाट दाङ आउँदा रु.२०० बढी लाग्ने गर्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार ११:०९