नामिबियामा जारी विश्वकप लिग-२ क्रिकेट अन्तर्गतको एक दिवसीय श्रृंखलाको अन्तिम खेलमा आज बिहिबार नेपालले स्कटल्यान्डको सामना गर्ने भएकाे छ ।
नामिबियाको विन्डहकमा नेपाली समय अनुसार बिहिबार दिउँसो पौने २ बजे खेल सुरु हुने भएकाे हाे । श्रृंखलामा लगातार दुई खेल हारेको नेपालले वर्षाले अवरुद्ध एक खेलमा भने अंक बाँडेको थियो । बिहिबारको खेल जित्दै नेपाल श्रृंखलाको सुखद अन्त्य गर्न चहन्छ ।
यसअघि बुधबारको खेलमा नेपाललाई आयोजक नामिबियाले ८६ रनले हराएको थियो । खेलमा पहिले व्याटिङ गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७५ रन बनायो । जवाफमा २ सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभर ५ बलमा अलहाउट हुँदै १ सय ८९ रन मात्रै बनाएकाे हाे ।
७ देश सहभागी आइसीसी विश्वकप लिग-२ क्रिकेटको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । ३१ खेलबाट ४४ अंक जोडेको स्कटल्यान्ड शीर्ष स्थानमा रहँदा ३६ खेलबाट ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा रहेकाे छ ।
नामिबियाको ३७ अंक छ भने अमेरिकाको ३५, युएईको २७, नेपालको १८ तथा पपुवा न्युगिनीको ५ अंक रहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ