सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

सत्ता गठबन्धन धरापमा, अब एमाले–माओवादीको नयाँ सरकार !

वर्तमान पाँच दलीय सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्न सक्ने सम्भावना देखिएको छ ।

नेकपा माओवादी केन्द्रले आगामी सरकार निर्माणका लागि औपचारिक विकल्प खुला गरेसँगै नयाँ गठबन्धन बन्न सक्ने सम्भावना देखिएको छ । माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै वर्तमान पाँच दलीय सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्न सक्ने सम्भावना देखिएको हो ।

सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीका लागि दबाब बढाउन पनि सरकार गठनका सबै विकल्प खुला गरिएको माओवादीका एक नेताले बताए । ‘पहिलो प्राथमिकता सत्तारूढ गठबन्धन नै हो । त्यहाँ हामीले प्रधानमन्त्रीको दावी गर्नुपर्छ भन्ने मत रह्यो । नभए एमालेसँग मिलेर पनि सरकार बनाउने बारेमा प्रारम्भिक छलफल भएको छ,’ ती नेताले भने ।

माओवादीको यस निर्णयले अब बन्ने नयाँ सरकार सत्ता गठबन्धनकै बन्छ भनेर ढुक्क बस्न सक्ने स्थिति रहेन । यसै पनि सत्ता गठबन्धनसँग स्पष्ट बहुमत पुग्ने सम्भावना छैन । नयाँ सरकार बनाउन उसलाई नयाँ सहयात्रीको आवश्यकता छ । त्यसमाथि सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादीले सबै विकल्प खुला गरेपछि सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन पनि बन्न सक्ने सम्भावनाको ढोका खुलेको हो ।

आइतबार बिहानसम्म प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६४ सिटको अन्तिम परिणाम आइसकेको छ । दोलखामा मतगणना जारी छ । त्यहाँ माओवादीका उम्मेदवारको अग्रता छ । कांग्रेसले ५७ सिट जितेको छ । यता दोलखामा माओवादीले जिते उसको सिट संख्या १८ हुनेछ । यस्तै एमालेले ४४ स्थानमा जित हात पारिसकेको छ । नेकपा एकीकृत समाजवादीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ सिट जितेका छन् ।

यस्तै लोसपाले ४, नागरिक उन्मुक्तिले ३, नेमकिपा र जनमोर्चाले एक–एक तथा ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । समानुपातिकतर्फको अन्तिम परिणाम आउन बाँकी छ । यद्यपी सातवटा पार्टीले थ्रेसहोल्ड कटाइसकेका छन् । त्यसैले यी सात पार्टीले पाउने सम्भावित सिट संख्या अनुमान गर्न गाह्रो छैन । समानुपातिकमा सबैभन्दा धेरै सिट पाएको एमालेले कम्तीमा ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १४, राप्रपाले ७, जसपा र जनमतले ४–४ सिट पाउने सम्भावना छ ।

यद्यपी एक दुई सिट तलमाथि हुनसक्छ । यसअनुसार कांग्रेसको जम्मा सिट ८९, एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, राप्रपाको १४, जसपाको ११ र जनमतको ५ सिट हुनेछ । एमाले र माओवादीबीच सहकार्य भएमा अहिलेसम्मको परिदृष्य अनुसार यो गठबन्धनमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, जसपाको ११ सिट गरेर १३५ सिट हुने देखिन्छ ।

सरकार बनाउनका लागि कम्तीमा १३८ सिट हुनुपर्छ । त्यसैले वर्तमान गठबन्धनलाई बहुमतका लागि राष्ट्रिय स्वतन्त्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी वा स्वतन्त्र सांसदको समर्थन आवश्यक देखिन्छ । यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ सरकार निर्माणमा सहकार्य गरेर अघि बढ्न प्रस्ताव नै गरिसकेका छन् ।

यस्तो अवस्थामा हालको सत्ता गठबन्धनबाट माओवादी केन्द्र बाहिरिए सो गठबन्धन भने निकै कमजोर हुने देखिन्छ । किनकी त्यसपछि यो गठबन्धनमा कांग्रेसको ८९, नेकपा एसको १०, लोसपाको ४ र राष्ट्रिय जनमोर्चाको १ सिट मात्र हुने देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेमकिपा कुनै पनि गठबन्धनमा छैनन् । त्यसैले पनि आगामी नयाँ गठबन्धन बने यी दलको भूमिका मूख्य रहनेछ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतवार ११:५८