बाँके । बाँकेको बाढी प्रभावित क्षेत्रमा मलेरियाको संक्रमण देखिएको छ । बाढी प्रभावित क्षेत्रमा हालसम्म ३२ जनामा मलेरियाको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा मलेरिया सार्ने लामखुट्टे बढेपछि उक्त क्षेत्रमा मलेरियाको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका भेक्टर कन्ट्रोल सहायक रत्नलाल शर्माले जानकारी दिए । उनले राप्ती–सोनारी गाउँपालिकाका वडा नंं. २, ३, ४ र ५ का नरैनापुर, डुडुवा र बैजनाथ गाउँपालिकामा मलेरियाको संक्रमण देखिएको बताए ।
‘अन्य ठाउँका मानिसमा पनि मलेरियाको संक्रमण देखिएको छ, तर बाढी प्रभावित क्षेत्रमा यसको संक्रमण बढी देखिएको छ’, शर्माले भने । उनले दसैँ, तिहारका बेला मानिसको आवतजावत र ओहोरदोहोर धेरै हुने भएकाले मलेरियाको संक्रमण फैलिने गरेको बताए । उनले बाढी प्रभावित क्षेत्रमा लामखुट्टे वृद्धि भएकाले साविकका कचनापुर, बैजापुर, बिनौना, होलिया, गंगापुर गाविसमा मलेरियाको संक्रमण देखिएको बताए । ‘बाढीपछि बढेको फोहोर र पानीका कारण लामखुट्टे पैmलिएर मलेरियाको संक्रमण बढाएका हुन्’, उनले भने ।
मलेरिया लागेकालाई खोज्दै जनस्वास्थ्य
मलेरियाको संक्रमण देखिएकाहरूको नेपालगन्जस्थित भेरी अंचल अस्पतालमा उपचार भइरहेको छ । मलेरियाको संक्रमण भएकाहरूको खोजी गरी अस्पतालमा पु¥याउने र शंका लागेका ब्यक्तिको रगत परीक्षणमा जिल्ला जनस्वास्थ्यले सघाउँदै आएको भेक्टर कन्ट्रोल सहायक शर्माले बताए । उनले मलेरियाको शंका लागेका बिरामीको स्थानीय स्वास्थ्य चौकीमा रगत परीक्षण गरिनुका साथै कडा खालका बिरामीलाई नेपालगन्जमा ल्याएर उपचारमा सहयोग गरिरहेको बताए । ‘सिकिस्त बिरामीको उपचार र शंका लागेका बिरामीको रगत परीक्षण तथा नयाँ बिरामीको खोजी कार्य जारी छ’, उनले भने ।
मलेरिया नियन्त्रणका लागि कीटनाशक औषधि स्प्रे
बाढी प्रभावित क्षेत्रमा मलेरियाको संक्रमण देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले मलेरिया रोगबाट बढी प्रभावित राप्ती–सोनारी गाउँपालिकाका विभिन्न वडामा मलेरिया र कालाजार रोग नियन्त्रणका लागि कीटनाशक विषादी छर्किने अभियान थालेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काका अनुसार राप्ती–सोनारी गाउँपालिका वडा नंं. २, ३ ४ र ५ का १२ हजार जनसंख्याका दुई हजार १०० घर र दुई हजार १०० गोठमा कीटनाशक बिषादी छर्किने कार्य जारी रहेको छ । कीटनाशक बिषादी छर्किने (स्प्रे) कार्य असोज १३ गतेबाट सुरु भएको हो । ‘अन्यत्र बाढी पसे पनि मलेरियाको संभावना यी क्षेत्रमा भएकाले यतातिर बिषादी छर्किएका हौँ’, उनले भने ।
उनले अहिलेलाई कीटनाशक बिषादी छर्किने कार्य सकिन लागे पनि आवश्यक परे अन्यत्र पनि बिषादी छर्किने जानकारी दिए । एक पटक छर्केको बिषादीले तीन महिनासम्म काम गर्ने खड्काले बताए । हालसम्म एक हजार ७५३ घर र एक हजार ७५६ गोठमा बिषादी छर्किने कार्य सम्पन्न भइसकेको खड्काले जानकारी दिए । उनले कात्तिक ९ गतेभित्र बिषादी छर्केर सकिने बताए । ‘हालसम्म लक्ष्यको ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ, दुई दिनभित्र तोकिएका सबै घर र गोठमा बिषादी छर्केर सकिन्छ’, उनले भने, ‘तोकिएको भन्दा धेरै घर र गोठ फेलापरेपछि बिषादी छर्किन समय लाग्यो ।’
बिषादी छर्केपछि सर्वसाधारणलाई राहत
जिल्ला जनस्वास्थ्यले कीटनाशक बिषादी छर्केपछि लामखुट्टे कम भएको राप्ती–सोनारी गाउँपालिका– २, टिकुलीपुरका हरिभक्त पौडेलले बताए । उनले बिषादी छर्केपछि झुल नलगाई पनि सुत्न सकिने अवस्था रहेको बताए । उनले बिषादी छर्केपछि राहत मिलेको बताउँदै साउन, भदौमा बिषादी छर्केको भए अझ उत्तम हुने बताए । ‘पहिलेको जस्तो लामखुट्टे लाग्दैनन्, अहिले लामखुट्टे नै छैनन् भने पनि हुन्छ’, उनले भने । यस्तै जनस्वास्थ्य कार्यालयले कीटनाशक औषधि नछर्केको ठाउँमा झुल वितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा करिव २० हजार झुल वितरण गरिएको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सहायक शर्माले जानकारी दिए । उनले नियमित कार्यक्रमअन्तर्गत फत्तेपुर, बिनौना, बैजापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयामा २० हजार कीटनाशक झुल वितरण गरेको बताए। बाढीले झुल बगाएको ठाउँमा थप करिव एक हजार थान झुल वितरण गरिएको शर्माले बताए । ‘मलेरिया र कालाजारबाट जोगाउन बाढी प्रभावित क्षेत्रमा झुल वितरणसमेत भएको छ’, उनले भने ।
मलेरिया रोगबारे सर्वसाधारण अनभिज्ञ
जिल्ला जनस्वास्थ्य कार्यालयले मलेरिया र कालाजारविरुद्ध बाढी प्रभावित क्षेत्रमा बिषादी छर्किरहेको बेला बाढी प्रभावित अधिकांशलाई मलेरिया रोगको बारेमा जानकारी नै छैन । मलेरिया रोग रसर्ने माध्यमको बारेमा आफूलाई जानकारी नभएको राप्ती–सोनारी गाउँपालिका– २, शम्शेरगन्जकी रूपा थारूले बताइन् । उनी जस्तै राप्ती–सोनारी गाउँपालिका–२ टिकुलीपुरकी देविका जैसीले पनि मलेरिया रोग र सर्ने माध्यमको बारेमा आफूलाई जानकारी नभएको बताइन् । लामखुट्टेबाट जोगिन झुल लगाए पनि मलेरिया कसरी सर्छ भन्ने जानकारी नभएको उनले बताइन् । ‘मच्छडले टोकेमा मलेरिया रोग लाग्छ भन्ने पहिलो पटक सुन्दै छु’, उनले भनिन् ।
उनी बाढी प्रभावित हुन् । बाढीले घरबास उठिबास बनाएपछि उनले सिद्ध साई कुमारी सामुदायिक वनमा आश्रय लिएकी छन् । उनीसँगै सोही ठाउँकी मन्जु विकले पनि सामुदायिक वनमा छाप्रो बनाएर बसेकी छन् । मन्जुले पनि मलेरिया रोग लाग्ने माध्यमको बारेमा आफू जस्तै धेरैलाई जानकारी नभएको बताइन् । उनले मलेरिया रोगबाट बच्ने उपाय र सर्ने माध्यमको बारेमा सचेतना आवश्यक भएको बताइन् । सचेतना नभएका कारण कतिपयले झुल नलगाएर सुत्ने गरेको उनले सुनाइन् । ‘मच्छडको विगविगी छ, मच्छडले टोक्दा मलेरिया र कालाजार सर्छ भन्ने जानकारी छैन, जानकारी नभएका कारण यसको संक्रमण अझ बढ्न सक्छ’, उनले भनिन् ।
।