नेपालको संविधान, २०७२ ले अंगीकार गरेको संघीयताले २०७४ सालमा मूर्तरूप पायो । २०७४ मा तीन तह (स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभा) को निर्वाचन भएपछि संघीयता कार्यान्वयनमा आयो । स्थानीय तह, सातै प्रदेश र संघमा सरकार बने ।
प्रदेशसभाको पाँच वर्षको अवधिमा सातवटा प्रदेशमा गरी १४ जना मुख्यमन्त्री बने । प्रदेश १ र वाग्मती प्रदेशमा तीन/तीन जना, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा दुई/दुई जना र मधेस प्रदेश र सुदूरपश्चिम प्रदेसमा एक/एक जना मुख्यमन्त्री बने ।
संघीय मुलुकहरूमा मुख्यमन्त्री बन्ने अवसर पाएका नेताहरूलाई देशको भावी प्रधानमन्त्रीका रूपमा पनि हेरिन्छ ।
प्रदेश मुख्यमन्त्रीमा सफल नेताले मुलुककै प्रधानमन्त्री चलाउन सक्ने हैसियत राख्छन् । यसको एक उदाहरण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हुन् । उनी सन् २००१ देखि २०१४ सम्म लगातार गुजरात प्रान्तका मुख्यमन्त्री भएका थिए ।
उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले मोदीको ‘गुजरात मोडल’ लाई चुनावी मुद्दा बनाउँदै सन् २०१४ को लोकसभा निर्वाचनमा गएको थियो । त्यतिबेला भाजपाले मोदीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचन लडेको थियो ।
सत्यपाटी संवाददाता । नागरिक दैनिक