सूचनाको शक्ति - The Power Of Information

        

बाजुराको बुढीनन्दामा आज मतदान

बाजुराको बुढीनन्दा–५ मा रोकिएको निर्वाचन आज हुँदैछ । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान प्रक्रिया यहाँ रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले अहिले बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुने बाह्रखरीलाई जानकारी दिए । यो केन्द्रमा ९९९ जना मतादाता रहेको पनि उनले बताए ।

राजनीतिक दलहरुले जिल्लाका २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी गरेका छन् । यी उजुरीको विषयमा पनि निर्णय भइनसकेको उनले जानकारी दिए ।

‘यहाँ विवाद भएको भन्दै उजुरी परेका छन् । यी उजुरी र यहाँको विवादको विषय बुझ्न आयोगको टोली यतै छ,’ उनले भने, ‘आयोगले अध्ययन गरेपछि निर्णय गर्छ र हामी कसरी अघि बढ्ने निर्णय गर्छौँ ।’

उनका अनुसार मतदान सकिएपछि मतपेटिका भण्डारण गरिने र आयोगको निर्णय पछिमात्र मतगणना प्रक्रिया अघि बढाइनेछ । अयोगले सहसचिवको तुलसीबहादुर श्रेष्ठको नेतृत्वमा टोली गठन गरेको छ ।

यहाँ, त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक र दोहोरो भीडन्तमा एक गरी दुईजनाको मृत्यु भएको थियो । यो घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गरिरहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार ०७:१८