बाँके । अस्थायी छाप्रोमा बसिरहेका राप्ती–सोनारी गाउँपालिका टिकुलीपुरका बाढीपीडितलाई रात गुजार्न मुस्किल परेको छ । अस्थायी रूपमा बनाएको छाप्रो र सरकारले दिएको त्रिपालले शीत छेक्न नसकेपछि चिसोले रात गुजार्न मुस्किल परेको बाढीपीडितले गुनासो गरेका छन् । त्रिपालबाट शीत तपतप चुहिने र स्याउलाले बनाएको छाप्रोेले हावा र शीत छेक्न नसक्दा यसपालिको जाडो कटाउन मुस्किल पर्ने राप्ती–सोनारी गाउँपालिका–२, टिकुलीपुरकी बाढीपीडित मञ्जु विकले दुखेसो पोखिन् ।
‘त्रिपालबाट शीत तपतप चुहिन्छ, रातभर मुख ढाकेर सुत्नुपर्छ, बिहान उठ्दा ओढेको कपडा निथ्रुक्क भिजेको हुन्छ’, उनले भनिन्, ‘यसपालि जाडो कटाउन मुस्किल पर्ला जस्तो छ ।’ बाढीले घर भत्किँदा सिरक, डसना घरमै पुरिएको सिद्धसाई कुमारी सामुदायिक वनमा बस्दै आएकी टिकुलीपुरकी डोल्मा विकले बताइन् । उनले रातभर भिजेको लुगा दिउँसो सुकाएर ओढ्ने गरेको बताइन्। ‘सिरक, डसना पनि छैन, पातलो लुगा ओढ्यो, त्यो पनि रातभरमा भिजेर ओढ्न मिल्दैन’, डोल्माले गुनासो गरिन् ।
बालबालिका र वृद्धवृद्धा चिसोबाट प्रभावित
छाप्रो र त्रिपालबाट शीत चुहिने र चिसो हावा लाग्ने भएपछि सिद्ध साई कुमारी सामुदायिक वनमा बस्दै आएकाहरू बिरामी परेका छन् । चिसो लागेपछि रुघा, खोकी र ज्वरोले थलिएको स्थानीय सीताराम जैसीले बताए । उनले भाइरल ज्वरोले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएको बताए। चिसोले बालबालिकालाई निमोनिया लाग्ने र ज्येष्ठ नागरिकलाई रुघा, खोकी लागेको उनले जानकारी दिए ।
‘युवा र जवान खासै प्रभावित नभए पनि चिसोले वृद्धवृद्धा र बालबालिकालाई जोगाउनै मुस्किल भएको छ’, उनले भने । चिसोले रात बिताउन गाह्रो भएको सिद्ध साई कुमारी सामुदायिक वनमा बस्दै आएका खिमबहादुर विकले बताए । उनले शीत र हावाको झोँकाले हानेका कारण रुघा, खोकी र ज्वरोले सताएको बताए । ‘जवान छोराछोरी र बुहारीहरूले सानोतिनो जाडो सजिलै कटाउँछन्, हामी वृद्धवृद्धालाई यसपालिको जाडो कसरी कटाउने भन्ने चिन्ता छ’, उनले भने ।
प्रतिमहिना ५० देखि सय रूपैयाँमा पिउने पानी
राप्ती–सोनारी गाउँपालिका–२, शम्शेरगन्जका बाढीपीडितलाई खाद्यान्नभन्दा पानीको चिन्ता छ । दुर्गा सामुदायिक वनमा बस्दै आएका शम्शेरगन्जका ६० परिवार बाढीपीडितले एउटा इनार बनाएका छन् । तर, उक्त इनारको पानी पिउनमा प्रयोग नभएपछि उनीहरूले पानी किनेर पिउन बाध्य छन् । इनारको पानी दूषित भएकाले लुगा धुन र भाँडाबर्तन माझ्न मात्र प्रयोग गर्दै आएको रूपा थारूले बताइन् । उनले पिउने पानीका लागि एक किलोमिटर पर जानुपर्ने बाध्यता रहेको बताइन् ।
‘इनारको पानी पिउन मिल्दैन, शुल्क नतिरे पानी पिउन पाइँदैन’, उनले भनिन् । पिउने पानीवापत प्रति परिवार मासिक ५० रूपैयाँदेखि १०० रुपैयाँसम्म तिर्दै आएको नयाँ बस्तीकी रामकली थारूले बताइन् । उनले स्थानीय सोमई मगरको निजी हेन्डपम्पको पानी प्रयोग गरेवापत परिवार संख्या हेरेर पानीको शुल्क तिर्दै आएको बताए । ‘सानो परिवारले मासिक ५० रुपैयाँ र ठूलो परिवारले १०० रूपैयाँ शुल्क तिर्नुपर्छ’, उनले भनिन् । नयाँ बस्तीमा ६० परिवार बाढीपीडित बस्दै आएका छन् ।
।