सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

शीर्ष नेताका निर्वाचन क्षेत्रमा अझै सुरु भएन मतगणना

सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ ।

प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता हासिल गरेका छन् ।

तर, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका अध्यक्षका निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भइसकेको छैन ।

मतपेटिका संकलन कार्य जारी रहेको भन्दै डडेल्धुरामा सोमबार दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ । डडेल्धुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार छन् ।

उनीसँग कांग्रेस बीपीका कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल प्रतिस्पर्धामा छन् । एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पनि मतगणना सुरु नै हुन सकेको छैन ।

सो क्षेत्रमा मतगणनाका लागि सर्वदलीय बैठकसमेत बस्न सकेको छैन । झापा ५ कांग्रेसका डा.खगेन्द्र पाण्डव अधिकारी, स्वतन्त्र उम्मेदवार युग पाठक प्रतिस्पर्धामा छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा २ मा भने लफडा सुरु भएको छ ।

एमालेले धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन उजुरी दिएकाले त्यहाँ गणना हुन नसकेको हो । गोरखा २ मा एमालेबाट अब्दुस मिया उम्मेदवार छन् । माधवकुमार नेपालको निर्वाचन क्षेत्र रौतहट १ मा पनि मतगणना सुरु भएको छैन ।

दिउँसोबाट सुरु हुने गणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी छ । नेपाललाई एमाले उम्मेदवार अजय गुप्ताले टक्कर दिएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरी २ मा भने मतगणना सुरु भएको छ । अहिलेसम्म सो क्षेत्रमा जनमत पार्टीका सीके राउतले अग्रता हासिल गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १२:२१

सिफारिस