प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अन्तर्गत काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, झापा र धनुषामा मतगणना सुरु भएको छ ।
काठमाण्डौको क्षेत्र नम्बर–७, ललितपुर क्षेत्र नम्बर २, ललितपुर क्षेत्र नम्बर ३, भक्तपुर क्षेत्र नम्बर २, कास्की क्षेत्र नं २, झापा–२ र धनुषा ३ मा मतगणना भइरहेको हो । गणना भइरहेका क्षेत्रमध्ये ६ वटाको प्रारम्भिक नतिजामा ३ ठाउँमा नेकपा एमालेको अग्रता छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले २ र कांग्रेसले एक ठाउँमा अग्रता लिएको छ । काठमाण्डौमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिनुभएको छ । उहाँको १ सय ७७ मत आएको छ ।
यस्तै, कास्कीको क्षेत्र नम्बर–२ मा ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिनुभएको छ । उहाँले अहिलेसम्म १ सय ६२ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ८५ मत प्राप्त गर्नुभएको छ । कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना आज बिहान सर्वदलीय बैठकपछि सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।
ललितपुर क्षेत्र नम्बर २ मा चार हजार सात सय ८८ मत गणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले एक हजार तीन सय १७ मत ल्याउनु भएको छ । ताजा मत परिणाम अनुसार हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले एक हजार ९७ मत ल्याएर महर्जनलाई पछ्याइरहनु भएको छ ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले आठ सय ७७ मत ल्याउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले सात सय ९० मत ल्याउनु भएको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले छ सय ७६ मत ल्याउनु भएको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिनु भयो । यस क्षेत्रमा १२ जना स्वतन्त्रसहित ४२ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।
झापाको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । क्षेत्र नम्बर २ मा ६ सय मत गन्दा एमालेका उम्मेदवार देवराज घिमिरेले दुई सय मतसहित अग्रता कामय गर्नुभएको छ । त्यस्तै,माओवादीका हरिकुमार रानाले १ सय ९८ र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले सय मत प्राप्त गर्नुभएको छ ।
यस्तै,धनुषा निर्वाचन क्षेत्र नम्बर–३ को प्रतिनिधि सभातर्फ गणना सुरु भएको छ । त्यहाँ एमालेका जुलीकुमारी महतोले ६ सय ८ मतसहित अग्रता कायम गर्नुभएको छ । जनमत पार्टीका शम्भु साहले ३ सय २० र लोसपाका अनिलकुमार झाले ३ सय १० मत प्राप्त गरेको पछिल्लो विवरण छ ।
भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले एमालेका उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दूर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई ६ सय मतले पछाडि पार्नुभएको छ ।
मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीन वटा मतदान केन्द्रका मतगणनामा नेपाली कांग्रेसले दुई हजार २ सय ३० मतले अग्रता लिएको छ ।
एमाले एक हजार ६ सय ३२ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले २ सय ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सय २४ र नेपाल मजदुर किसान पार्टीले २ सय ५० मत प्राप्त गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ