सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं, भक्तपुर र ललितपुरमा सुरु भयो मतगणना

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत भक्तपुरमा मतगणना सुरु भएको छ । भक्तपुर क्षेत्र नं २ को मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिक केन्द्रमा आज राति १ बजेर ५० मिनेटदेखि मतगणना सुरु भएको हो ।

आइतबार राति १० बजेसम्म विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी ल्याइएको थियो । त्यसलगत्तैको सर्वदलीय बैठकपछि मतगणना शुरु भएको हो । निर्वाचनमा भक्तपुरमा कूल एक लाख ९४ हजार ४३९ जना मतदाता रहेकोमा एक लाख ३९ हजार ९३८ अर्थात् ७१ दशमलव ९७ मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेका अनुसार क्षेत्र नं १ मा एक लाख दुई हजार ५२८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार ९११ मतदाता रहेकोमा ६५ हजार ९१९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उनले जानकारी दिए ।

भक्तपुर क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएको नेपाली कांग्रेसका सभापति दुर्लभ थापा र नेकपा (एमाले)का तर्फबाट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच कडा प्रतिस्पर्धा रहेको छ । भक्तपुर क्षेत्र नं १ को आज बिहान ७ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ ।

कार्यालयका प्रमुख न्यौपानेका अनुसार आइतबार साँझ बसेको सर्वदलीय बैठकमा आज मतगणना सुरु गर्ने सहमति भएको जानकारी दिए । चाँगुनारायण नगरपालिका खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा त्यस क्षेत्रका मतपेटिका राति ११ बजेसम्म ल्याएर कर्मचारीबाट बुझाई रुजु गर्ने काम सम्मपन्न भएको थियो ।

निर्वाचन क्षेत्र नं १ मा भक्तपुर र चाँगुनारायण तथा क्षेत्र नं २ मा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका रहेका छन् । प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा १० वटालाई अपाङ्गतामैत्री मतदान केन्द्रसहित २२२ वटा मतदान केन्द्रबाट मतदान गरिएको थियो ।

कर्मचारीको लागि समानुपातिकतर्फको मात्रै मतदान गर्ने गरी भक्तपुरमा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो । भक्तपुरका सबै मतदान केन्द्रमा शान्ति पूर्णरुपमा मतदान सम्पन्न भई मतपेटिकाहरु सुरक्षितरुपमा मतगणनास्थलमा पुर्याइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

ललितपुर ३ मा मतगणना सुरु

ललितपुर निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो । ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

मतगणनालाई तीव्र बनाउन चार स्थानमा गणना गर्ने तयारी गरिएको छ । अहिले एक ठाउँबाट मात्र गणना शुरु गरिएको छ । सो क्षेत्रमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का पम्फा भुसाल, नेकपा (एमाले)का अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन् ।

काठमाडौँका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

काठमाडौँ क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवन र क्षेत्र नं ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा हुनेछ ।

निर्वाचन क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थली, क्षेत्र नं ७ को बालाजुस्थित जुडो हल, क्षेत्र नं ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नं ९ को रविभवनस्थित न्याथम कलेज र काठमाडौँ क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गरिनेछ । यद्यपि, काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मतगणना सुरु गरिसकिएको छ ।

निर्वाचन अधिकृत उषा श्रेष्ठले चार स्थानमा मतगणना सुरु गरिएको जानकारी दिइन् । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइएको छ । यस्तै ललितपुर निर्वाचन क्षेत्र नं २ र ३ को पनि मतगणना आज बिहान २ बजदेखि सुरु भइसकेको छ । ललितपुर क्षेत्र नं २ को सातदोबाटोस्थित राष्ट्रिय खेदकूद परिषद् परिसर र क्षेत्र नं ३ को जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना जारी छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०७:३२