सूचनाको शक्ति - The Power Of Information

        

बैदेशिक रोजगारले परिवार असुरक्षित

बाँके, २५ भदौ । असुरक्षित बैदेशिक रोजगारको कारण परिवार नै असुरक्षित हुने नेपालगन्जमा आयोजिक कार्यक्रमका सहभागीले औल्याएका छन् । साथी संस्था नेपालगन्जले प्लान नेपालको सहयोगमा स्थानीय तहका उपाध्यक्ष तथा उप मेयरलाई लक्षित गरी आयोजना गरिएको मानव बेचविखन तथा ओसारपसार ऐन यसको प्रभावकारी कार्यान्वयन विषयक अन्तरक्रियाका सहभागिले सो औल्याएका हुन् ।
बाँके खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया बिकले रेमिट्यान्स भित्रयाउने बाहानमा पुरुष जनशक्ति विदेसिदा घरपरिवार नै लाथालिङ्ग हुने गरेको आफुले पाएको बताइन् । उनले भनिन्, ‘बैदेशिक रोजगारले आर्थिक समुन्नति ल्याएको छ भन्ने मात्रै देखिएको छ । पुरुष बैदेशिक रोजगारमा हुँदा घरपरिवारको पालनपोषण सबैको जिम्मेवारी महिलाको काँधमा छ । तर, आर्थिक समुन्नतिभन्दा पारिवारिक विखण्डन हुने र त्यसको दोष महिलाले लिनुपर्ने अवस्था छ ।’
अन्तरर्राष्ट्रिय मानव बेचखिन बिरुद्धको दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रममा बोल्दै उनले आफुले न्यायिक समितिको संयोजकको भूमिका गाउँपालिकामा निभाउँदा आउने उजुरी र झैझगडाको कारण अधिकांश बैदेशिक रोजगारले नित्याएको पाएको बताइन् । उनले भनिन्, ‘सिंहदरबारको अधिकार गाउँमा आयो हामीलाई हाम्रो हक अधिकार र न्याय चाहियो भन्दै सेवाग्राही आउनु हुन्छ तर ऐन र कानून नै नहुँदा के भनेर फर्काउने ?’
उनले बैदेशिक रोजगारले पछिल्लो समयमा मानवबस्ती नै जोखिममा पर्ने हो कि भन्ने डर र त्रास बढेर गएको चिन्ता व्यक्त गरिन् । ‘गाउँमा अधिकांश पुरुष बैदेशिक रोजगारमा छन् । महिलामाथि सबै जिम्मेवारी छ । तर, मानब बेचविखनमा लागेका दलालहरु विभिन्न प्रलोभन देखाउदै महिलालाई आफ्नो जालमा पर्ने खतरा भएकोले सचेतना फैलाउन आवश्यक छ,’ उनले भनिन ।
कार्यक्रमममा जिल्लाका आठ वटै स्थानीय तहका उपाध्यक्ष तथा उपमेयरले आ–आफ्नो स्थानीय तहमा न्यायीक समुहको संयोजक हुने भएकोले उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको ऐनका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको साथीका कार्यक्रम संयोजक कमला पन्तले बताइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक बिरबहादुर थापाले पछिल्लो तिन वर्षमा मुद्दाको ट्रेन बढ्दै गएको र प्रहरी र संघसंस्थाले मात्र मानब बेचबिखन रोकथामको लागि केही गर्न नसक्ने बताए । उनले अर्थिक वर्ष ०७१/०७२ मा १० मुद्दा दर्ता हुँदा २ बालिका १० महिला पीडित भएको, ०७२/०७३ मा १२ मुद्दा ३ बालिका १५ महिला, ०७३/०७४ मा १८ मुद्दा १६ महिला २ बालिका र ०७४/०७५को दुई महिनामा ५ मुद्दा दर्ताहुँदा ११ जना पीडित रहेको र केही अनुसंधानमै रहेको जानकारी दिए ।

प्रकाशित मिति : २५ भाद्र २०७४, आइतवार ११:०२