सूचनाको शक्ति - The Power Of Information

        

राँझामा आकाशे पुल निर्माण सुरू

नेपालगन्ज–कोहलपुर सडकखण्डको राझामा आकाशे पुलको काम सुरू भएको छ । नेपालगन्जका सडकमाथि बन्ने चार वटा यस्ता आकाशेपुल (ओभरहेड ब्रिज) मध्ये एउटा राझाको पुलको काम शुक्रबारदेखि सुरू भएको हो ।

केही समयअघि नेपालगन्जका चार ठाउँ र कोहलपुरमा एउटा यस्तै पुलको शिलान्यास भएको थियो । एउटा पुलका लागि करिब ८ करोड २१ लाख बराबर लागत रहेका यी पुलहरूको निर्माण एक वर्षभित्र सकिने निर्माण कम्पनीले जनाएको छ ।

पुल निर्माणको जिम्मेवारी पाएको डायनामिक कन्ट्रक्सनले यहाँका अरू पुलहरूको निर्माण कार्य पनि चाँडै सुरू हुने जनाएको छ । काम गर्दा कुनै अवरोधहरू नभएमा निर्माण सुरू गरिएको एक वर्षभित्र सबै कामहरू सम्पन्न हुने कम्पनीले जनाएको छ ।

रत्न राजमार्गका चोकहरुमा सर्वसाधारणलाई सडक पार गर्न समस्या भएको र दुर्घटनाको जोखिम समेत बढेका कारण नेपालगन्जमा चार र कोहलपुरमा एउटा गरी पाँच वटा आकाशे पुल निर्माण गर्ने निर्णय भएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले बताए ।

उनले आकाशे पुल निर्माण गर्ने योजना बाँकेका तत्कालिन सङ्घीय सांसद मोहम्मद ईश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएको समयमा बजेट विनियोजन भई पाँच वटा आकाशे पुलका लागि टेण्डर आह्वान भई राँझामा आकाशे पुल निर्माणको काम सुरु भएको र अन्य स्थानमा पनि चाँडै सुरु हुने बताए ।

उनका अनुसार नेपालगन्जको राँझा चोकमा आकाशे पुल निर्माण सुरु गरिएको र अति व्यस्त मानिने गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक र कोहलपुरको हाइस्कुल चोकमा आकाशे पुल निर्माण गरिनेछ । सोका लागि १० करोड रुपैयाँको बजेट छुट्टयाइएको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार ०९:३९