प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत यही मंसिर ४ गते भोलि मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार भोलि बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
आयोगले मतदान गर्ने तरिकाबारे जानकारी गराएको छ । मतदान केन्द्रभित्र प्रवेश गरिसकेपछि मतदाताले सबैभन्दा पहिला मतदाता नामावलीमा नाम रुजु गराउनुपर्छ ।
त्यसपछि बायाँ हातको बुढीऔँलाको नङ र मासुको बीचमा पर्ने गरी मसी लगाउन लगाउनुपर्छ । र, पहिलो मतपत्र लिनुपर्छ ।
स्वस्तिक छापले कुनै एक उमेदवारको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्ट्याएर सेतो पृष्ठभूमिमा रातो रङले ‘१’ लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नुपर्छ ।
यस्तो छ मतदान गर्ने सही तरिका
त्यसपछि दोस्रो मतपत्र लिनुपर्छ । स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्ट्याएर सेतो पृष्ठभूमिमा कालो रङले ‘२’ लेखिएको स्टिकर भएको मतपेटिकमा खसाल्नुपर्छ ।
त्यसपछि तेस्रो मतपत्र लिनुपर्छ । स्वस्तिक छापले कुनै एक उमेदवारको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्ट्याएर सेतो पृष्ठभूमिमा रातो रङले ‘३’ लेखिएको स्टिकर भएको मतपेटिकमा खसाल्नुपर्छ ।
याद गर्नोस्, यस्तो अवस्थामा बदर हुन्छ मतपत्र
अन्तिममा चौथो मतपत्र लिनुपर्छ । स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्ट्याएर सेतो पृष्ठभूमिमा कालो रङले ‘४’ लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नुपर्छ र मतदान केन्द्रबाट बाहिर निस्किनुपर्छ ।
मतदाता परिचयपत्र नहुनेले मतदान गर्न पाइँदैन ?
मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र लिएर जानु पर्नेछ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानको दिन मतदान केन्द्रमा जाँदा आयोगबाट जारी भएको सक्कल मतदाता परिचयपत्र लिएर जानुपर्ने आयोगले स्पष्ट पारेको छ ।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र हराएको खण्डमा अथवा साथमा नभएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र लिएर गए पनि मतदान गर्न पाउनेछन् । यसबाहेक राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपूर्जा, राहदानी, सवारीचालक अनुमतिपत्र भए पनि मतदान गर्न पाइनेछ । तर, यी कागजातको सक्कलप्रति नै लिएर जानुपर्नेछ ।
सत्यपाटी संवाददाता । काठमाडौं