सूचनाको शक्ति - The Power Of Information

        

महंगो बजार

कोहलपुरमै एक किलो बन्दाको मूल्य १५० रुपैयाँ !

कोहलपुरमा सिजनअनुसार नै यति महँगो तरकारी हुनु विचौलियाका नजर परेको देखिन्छ ।

गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुँइचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुँइचोले घेरिएका थिए । तरकारीमा मोलमोलाई पनि उस्तै थियो । अन्य ठाउँको तरकारी बजारमा भन्दा यहाँको मूल्य असामान्य थियो ।

सिजनमा पनि तरकारीको मूल्य बढाइएको भन्दै उपभोक्ता कराइरहेका थिए । व्यापारीले भने टाढाबाट ल्याउनुपरेको र आफूले पनि महँगोमा किन्नुपरेको जवाफ दिइरहेका थिए । ‘हामीले पनि किनेरै बेच्ने हो । १० नाफा नखाएर कसरी व्यापार गर्नु,’ व्यापारी विनिता गिरीले भनिन्, ’हाम्रो घर टाढा हो, यता बसेर व्यापार गरेका हौँ । हामीले उत्पादन गरेका होइनौँ । किनेको मूल्यमा रु पाँच–दश नाफा त खानै पर्यो नि !’

उनका अनुसार तरकारी ओसारपसार गर्ने व्यापारीबाट बिहान ४ बजे नै कोहलपुर चोकबाट यहाँका व्यापारीले तरकारी किनेर ल्याउँछन् । त्यसैबाट थोरै फाइदा खाएर बेच्ने गरेको उनले बताए । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्ट पनि सोही दिन कोहलपुरको तरकारी बजार पुगेका थिए । उनी अन्य तरकारीको भन्दा बन्दाको मूल्यमै चकित परे ।

‘सिजनअनुसार सबै ठाउँमा १०–२० पर्ने बन्दाको कोहलपुरमा १५० भन्यो,’ उनले भने, ’कोहलपुर गएको मौकामा कृषि बजारस्थल पुगेँ, निकै अस्तव्यस्त देखियो । मूल्य सोधेँ, बन्दाको प्रतिकेजी १५० । गलत सुनेकी भनेर फेरि सोधेँ, १५० । अर्को स्टलमा सोधेँ, १५० नै । म त ट्वाँ परेँ ।’ प्रमुख विष्टले बन्दाको प्रतिकेजी १५० अहिलेसम्म नसुनेकै मूल्य भएको बताए ।

‘अरू ठाउँमा हेर्दा बन्दाको मूल्य निकै फरक भएको देखिन्छ,’ उनले भने, ‘बझाङको बुखखोरीकै कुरा गर्ने हो भने पनि बन्दाको दर प्रतिकेजी १२ छ । बित्थडचिरको आनन्दपुरमा १५, मुस्याखान बैतडीमा १०, खोड्पे बैतडीमा १४, अनारखोली डडेल्धुरामा १५, धनगढीको दुवै हाटबजारमा ७०, सुर्खेतको पहाडी गाउँ हर्रेमा ९० रूपैयाँ प्रतिकेजी बन्दाको मूल्य छ तर, कोहलपुरमा भने यति महँगो !’

कोहलपुरमा सिजनअनुसार नै यति महँगो तरकारी हुनु विचौलियाका नजर परेको प्रमुख विष्टले बताए । ‘म त अचम्ममा परेँ,’ उनले भने, ‘मलाई लाग्यो कि हरेक ठाउँमा उत्पादन भइरहेको तरकारीबाट कृषकले मूल्य कति पाउने रहेछन् ? उपभोक्ताले कति पाए र विचौलियाले कति खाने रहेछन् भन्ने लाग्यो ।’ यही विषयमा बुझ्न खोज्दा एक पटक मन्त्रीसँगै व्यापारीको हात हालाहालको अवस्था सिर्जना भएको प्रमुख विष्टले सङ्केत गरे ।

उनले भने, ‘हुनत तत्कालीन कृषिमन्त्री घनश्याम भूसालले कालीमाटी कृषि बजारमा यही प्रसङ्गमा बुझ्न खोज्दा झण्डै हातपात भएन । सुरक्षा व्यवस्था कडा भएकै कारण त्यसबखत घटना बाहिर आएन । त्यसैले मैले पनि व्यापारीसँग थप बुझ्न चाहिन ।’ व्यापारी विनोद जिसीले भने बन्दाको मूल्य आफूले १३० देखि १४० मा खरिद गरेको बताए । सिजनअनुसार नै बन्दाको मूल्य यसपटक बढेको उनको भनाइ थियो ।

‘कोहलपुरमा बेसिजनमा त यो मूल्य ठीकै हो । यसपटक भने निकै बढेको छ । कृषकले नै बढी लिएकोर, ढुवानी गर्दा महँगो परेको भनेर हामीलाई बेच्छन् । हामीले पनि १०–१२ त नाफा खानु पर्यो,’ व्यापारी जिसीले भने । अहिले राजधानीको सबैभन्दा ठूलो कृषि बजार कालीमाटीमा पनि बन्दाको मूल्य सयको आसपास छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठका अनुसार कालीमाटीमा सिजनअनुसार तरकारीको मूल्य धेरै बढेको छैन । ‘अहिले बन्दाको थोक मूल्यसमेत ८०–९० छ ।’ अन्य सिजनल तरकारीको मूल्य पनि धेरै नबढेको उनले बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कृषि बजारको अधिकार स्थानीय तहलाई दिएको छ ।

कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल स्थानीय सरकारले नै बजारीकरण गर्नुपर्ने र कृषकलाई उचित मूल्य दिलाउनुपर्ने ऐनमा उल्लेख छ तर सुदूरपश्चिम, कर्णालीबाट कोहलपुर जाने तरकारीको मूल्य कृषकको हातमा सस्तो हुँदा पनि कोहलपुरका उपभोक्ता भने निकै मारमा परेको गुनासो बढेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार १७:११