सूचनाको शक्ति - The Power Of Information

        

के हुन्छ रवि लामिछानेको उम्मेदवारी ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध परेको उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कारबाही अगाडि बढाएको छ ।

चितवन २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवार लामिछानेलाई उजुरीमा उठाइएको नागरिकतासम्बन्धी विवादमा स्पष्टीकरण सोधेको हो । लामिछानेका स्वकीय सचिव दीपक बोहराले स्पष्टीकरण बुझेर लगेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोग ऐन दफा ९ र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन दफा १३ अनुसार उम्मेदवार लामिछानेलाई सात दिनको म्याद दिएर स्पष्टीकरण माग गरेको हो ।

निर्वाचन आयोग ऐन दफा ९ (२) मा सम्बन्धित निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारलाई सात दिनको म्याद दिई स्पष्टीकरण माग गर्न सक्ने उल्लेख छ । मुख्य निर्वाचन अधिकृत थापाले स्पष्टीकरणको जवाफ प्राप्त भएपछि निर्वाचन आयोगमा पठाइने बताए । ‘आयोगबाट आवश्यक थप प्रमाण बुझ्ने भन्ने भयो भने त्यहीअनुसार लेखेर पठाउँला । त्यसपछि निर्णय गर्ला,’ उनले भने ।

लामिछानेविरुद्ध मंगलबार राजकुमार पाण्डेले विदेशी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिएको र उनी नेपाली नागरिक नभएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गर्दै निर्वाचन आयोगमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीमा कानुनबमोजिम सात दिनको समय दिएर स्पष्टीकरण सोधिएको छ । लामिछानेलाई स्पष्टीकरण बुझाउन ६ मंसिरसम्मको समय छ । ४ मंसिरमा चुनाव हुँदै छ ।

रविले स्पष्टीकरण दिन सात दिन समय लगाए उजुरी निष्क्रिय हुनेछ । चुनावपछि रविमाथि थप कारबाहीका लागि उजुरीकर्ता नागरिकतासम्बन्धी विवाद लिएर अदालत जानुपर्नेछ ।

यदि रविले बिहीबार अथवा मतदानअघि स्पष्टीकरणको जवाफ बुझाए भने आयोगले त्यसमा आवश्यक छानबिन गरी निर्णय गर्नुपर्नेछ । तर, निर्णय गर्नुअघि नागरिकतासम्बन्धी विवादमा सबै प्रमाण जुटाउनुपर्ने हुन्छ ।

रविले अमेरिकी नागरिकता लिएको र त्यागेको सम्बन्धमा परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी दूतावास तथा नेपाली नागरिकता त्यागेको र पुनः लिन लिएको सम्बन्धमा गृह मन्त्रालयमार्फत प्रमाण जुटाउनुपर्ने हुन्छ । प्रमाण जुटाउनै आयोगलाई समय लाग्छ ।

४ मंसिरको मतदान सम्पन्न गर्नुपर्ने भएकाले आयोगको ध्यान त्यसमा केन्द्रित हुनेछ । यो अवस्थामा पनि मतदानअघि यो उजुरीमा निर्णय गर्न सक्ने अवस्था व्यावहारिक रूपमा सहज भने छैन ।

‘मुख्य निर्वाचन अधिकृतबाट स्पष्टीकरण आइसकेपछि आयोगले तथ्य प्रमाण जुटाउन सम्बन्धित पक्षसँग बुझ्नुपर्ने हुन्छ । त्यसपछि निर्णय हुन्छ,’ सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले भने, ‘मतदानअघि प्रक्रिया पूरा हुन सकेन भने आयोगको क्षेत्राधिकारभित्र पर्दैन । न्यायालयले हेर्नुपर्छ ।’ त्यसका लागि उजुरीकर्ता वा अरू कोही अदालत जानुपर्ने उनको भनाइ छ ।

आयोगका एक आयुक्तले मतदानसम्म निर्णयमा पुग्न सकिने अवस्था नरहेको बताए ।

के हो नागरिकता विवाद ? 
उजुरीमा उल्लेख भएअनुसार लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको आरोप छ ।

नागरिक ऐन, २०६३ दफा १० (१) मा नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपाली नागरिकता कायम नरहने भन्ने रहेको उल्लेख गर्दै उजुरीमा कायमै नरहेको नागरिकता देखाएर उम्मेदवारी दिएकाले खारेज गर्नुपर्ने तर्क गरिएको छ ।

तर, लामिछानेले फेसबुक लाइभमार्फत नेपाली नागरिकता नत्यागे पनि त्यसको कारणबारे पहिले नै स्पष्ट पारिसकेको दाबी गरेका छन् । रविले नेपाल फर्केर अमेरिकी नागरिकता त्यागेको, तर कानुनअनुसार कायमै नरहेको नागरिकता देखाएर उम्मेदवार बनेकाले उम्मेदवारी अवैध रहेको उजुरीमा जिकिर गरिएको छ ।

स्रोत : नयाँ पत्रिका
प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ०८:३१