सूचनाको शक्ति - The Power Of Information

        

भोट हाल्न गाउँघरतिर लर्को

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौं उपत्यकामा रहेका गाउँघर फर्कन थालेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्ला केही दिनमा उपत्यकाका मुख्य नाकाबाट बाहिरिनेको संख्यामा वृद्धि भएको जनाएको छ । नयाँ बसपार्क, कलंकी, बल्खू, कोटेश्वरलगायत स्थानमा टिकट काट्ने सर्वसाधारण दिनदिनै बढ्दै गएका छन् ।

ट्राफिक प्रहरीले पछिल्ला दिन गाडी रिजर्भ गरेर जानेको संख्यासमेत बढेको जनाएको छ । निर्वाचन मुखमा विभिन्न राजनीतिक दलले मतदातालाई गाडी रिजर्भ गरेर लैजाने गरेको पाइएको छ ।

यातायात व्यवसायीका अनुसार हिजो बुधबार र आज बिहीबार काठमाडौं उपत्यकाबाहिर जाने बस बढी मात्रमा रिजर्भ भएका छन् । यात्रुले भने निर्वाचनका बेला व्यवसायीले महँगोमा टिकट बेचेको आरोप लगाएका छन् । सामान्य दिनभन्दा महंगोमा भाडा लिने गरेको उनीहरूको गुनासो छ ।

व्यवसायीले महंगोमा टिकट बेच्ने गरेको तथा थोत्रा र पुराना गाडीमा यात्रा गर्न बाध्य बनाउँदासमेत ट्राफिक प्रहरीले अनुगमन नगरेको यात्रु बताउँछन् । ट्राफिक प्रहरीले दसैं–तिहारलगायत चाडपर्वमा चेकजाँच तथा सिभिलमा पनि ट्राफिक प्रहरी खटाउने गरेको छ ।

तर, अहिले भने टिकट महंगीलगायत नियन्त्रणमा ट्राफिक प्रहरीले चासो नदेखाएको पाइएको छ ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ०८:११