सूचनाको शक्ति - The Power Of Information

        

जुम्लाका मतदान केन्द्रमा निर्वाचन सामग्री लैजादै

आम निर्वाचन आउन तीन दिनमात्र बाँकी हुँदा जुम्लाका मतदान केन्द्र र मतदानस्थलमा निर्वाचनका आवश्यक पर्ने मतपत्रसहितका निर्वाचनका सामग्रीको दुवानी भइरहेको छ ।

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री मतदान केन्द्रमा पठाउने काम सुरु भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए ।

‘निर्वाचनमा चाहिने सामग्री ढुवानीको काम हिजैबाट सुरु भएको छ,’ कार्यालय प्रमुख शर्माले भने, ‘निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी २१६ जनालाई तालिम दिएर निर्वाचनका खटाइएको छ ।’

निर्वाचन सामग्री हस्तान्तरण गरी निर्वाचनमा खटिने कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रमा खटाइएको छ । जिल्लाका १०६ मतदान केन्द्रमा खटिने १०६ मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृतसहित ८४८ कर्मचारी परिचालन भएको कार्यालय प्रमुख शर्माले बताए ।

मतदानको दिन र मतदान हुनुभन्दा पहिला खटाइसके अवधिमा गर्नुपर्ने कामका बारेमा तालिममा सिकाइएको छ । ‘टाढाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आज मतपत्र र निर्वाचन सामग्रीसहित खटाएका छौँ, बाँकीलाई भोलि खटाउँछौँ,’ निर्वाचन कार्यालयका प्रमूख शर्माले भने ।

आज साँझसम्म मतदानस्थलमा निर्वाचन सामग्री पुगिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ८३ वटा मतदानस्थल र एक सय छ वटा मतदान केन्द्र कायम गरिएको छ । दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि एक मात्र क्षेत्र रहेको जुम्लामा ६८ हजार ६३८ जना मतदाता रहेको छ । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र–१ (क) मा ३६ हजार ७८३ जना र प्रदेशसभा (ख) मा ३१ हजार ६३८ जना मतदता संख्या रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ०८:०६