सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेत विमानस्नथमा बुद्धको एटीआर ७२ को टेस्ट फ्लाइट सफल

विगत पाँच बर्षदेखि एटीआर ४२ (४७ सिट) जहाजमार्फत कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नियमित उडान गर्दै आएको बुद्ध एयरको एटीआर ७२ विमानले बुधबार पहिलो पटक अवतरण गरेको छ ।

सुर्खेत विमानस्थलमा बुद्ध एयरले बुधबार एटीआर ७२ विमानमार्फत टेस्ट फ्लाईट गरेको हो । योसँगै काठमाडौं–सुर्खेत ७२ सिटे विमान उडानको बाटो खुला भएको छ । यही पुस महिनाबाट बुद्ध एयरको एटीआर ७२ विमानले सुर्खेत–काठमाडौँ उडान भर्ने तालिकासमेत सार्वजनिक गरेको छ । जसका लागि भाडादर साढे सात हजार कायम गरिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बुद्ध एयरले सुरुमा १८ सिटबाट सुर्खेत उडान सुरु गरेको थियो । विगत ५ वर्षदेखि एटीआर ४२ (४७ सिट) जहाजबाट नियमित उडान सञ्चालन गर्दै आएको बुद्ध एयरले सुर्खेत उडान गर्ने यात्रुहरूको माग अनुरूप सिट उपलब्धता न्यून रहेको तथ्यलाई आत्मसाथ गर्दै एटीआर ७२ मार्फत उडान सञ्चालन आवश्यकता महसुस भएको बताएको छ ।

हाल सञ्चालनमा रहेको ४७ सिटे जहाजको उडान सञ्चालन लागत उच्च रहेको र यसको प्रत्यक्ष असर भाडादरमा परेको थियो । टेस्ट फ्लाईटको रिपोर्ट उडान अनुकूल रहेको अवस्थामा जनवरी २०२३ बाट एटीआर ७२ विमानमार्फत सुर्खेतमा दैनिक दुई उडान सञ्चालन गर्ने बुद्ध एयरले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोग र सहकार्यमा बुधबार ७२ सिटे विमानको उडान परीक्षण गरिएको हो । एटीआर ७२ विमानमार्फत उडान सञ्चालन गर्दा यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्ने र न्यूनतम भाडादर साढे सात हजार हुने जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ०७:५८