सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

निर्वाचनको आखिरी मोडमा ओलीलाई अनेक झस्का

गठबन्धन मजबुतरुपमा अघि बढेपछि धेरैले त ओलीसँग ‘हारिने भयो’ भनेर हात उठाइसकेका छन् । चुनावी मैदानमा रहेका ‘१० बुँदे’ मध्ये धेरैले ओलीसँग माफी मागेर टिकट पाएका थिए ।

निर्वाचनको आखिरी मोड पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नराम्ररी झस्केका छन् । मुख्य–मुख्य ‘भित्रिया’को चुनावी मैदान कमजोर देखेपछि ओलीलाई यतिखेर ‘हराउनुपर्छ’ भनिएकाहरूलाई ‘जिताउन पाए हुन्थ्यो’ भन्ने लागिरहेको छ । वाम–लोकतान्त्रिक गठबन्धन देशभर मजबुत ढंगले कार्यकर्ता परिचालनमा जुटेको छ ।

सहज तरिकाले ‘मत ट्रान्सफर’ हुने परिस्थिति बन्दै जाँदा बालकोटमा अर्को झस्का परेको छ । वाम–लोकतान्त्रिक गठबन्धन छिन्नभिन्न पार्ने प्रयासमा असफल अध्यक्ष ओली आफ्नाले हार्ने अवस्थामा पुगेपछि आफैले ‘हराउनुपर्ने सिस्ट’मा राखेकाहरूलाई जिताउन पाए हुन्थ्यो भन्ने अवस्थामा पुगेका हुन् । तर, समय घर्किसक्यो ।

वाम–लोकतान्त्रिक गठबन्धनबीच कतिपय ठाउँमा मित्रवत प्रतिस्पर्धा हुँदैछ । तर, अन्तिम अवस्थामा मित्रवल प्रतिस्पर्धा गर्ने भनिएका ठाउँमा पनि सबैभन्दा बलियोलाई समर्थन गर्ने सहमति भएको छ । त्यसले पनि ओलीलाई अर्को झड्का हानेको छ । गठबन्धनले मित्रवत प्रतिस्पर्धा गर्ने क्षेत्रमा गठबन्धनको मत विभाजित हुने र आफ्नो पार्टीले जित हासिल गर्ने ओलीको आन्तरिक बुझाइ थियो ।

तर, मित्रवत प्रतिस्पर्धा हुने क्षेत्रमा पनि अन्तिममा सबैभन्दा बलियोलाई समर्थन गर्ने गठबन्धनको सहमतिले ओलीको सपना चकनाचुर भएको हो । चुनावी मैदानमा रहेका ओलीका ‘भित्रिया’हरु अग्नी खरेल, भानुभक्त ढकाल, गोकुल बास्कोटा, महेश बस्नेत, निरुदेवी पाल, बालकृष्ण शिवाकोटी, सूर्य थापा लगायत अप्ठ्यारो अवस्थामा छन् ।

तुलनात्मक रुपमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, गोकर्ण विष्टसहितका ‘१० बुँदे’हरु मैदानमा बलियो देखिन्छन् । गठबन्धन मजबुतरुपमा अघि बढेपछि धेरैले त ओलीसँग ‘हारिने भयो’ भनेर हात उठाइसकेका छन् । चुनावी मैदानमा रहेका ‘१० बुँदे’ मध्ये धेरैले ओलीसँग माफी मागेर टिकट पाएका थिए ।

उनीहरुलाई खुशी भएर ओलीले टिकट दिएका थिएनन् । टिकट दिएपनि हराउनु पर्छ भन्ने लागेको थियो । तर, निर्वाचनको माहोल बन्दै जाँदा भित्रियाभन्दा उनै ‘१० बुँदे’ बलियो हुँदै गएपछि ओलीलाई उनीहरुलाई जिताउन पाए पार्टीको केही सिट बढ्थ्यो भन्ने लागिरहेको छ । ओली आफ्ना ‘कोर टिम’का केही नयाँ अनुहारलाई संसदमा पुर्याने चाहना राखेका हुन् ।

तर, तिनै नयाँ अनुहार कमजोर देखिएका छन् । मोरङमा विनोद ढकाल, बारामा अच्युत मैनाली र मकवानपुरमा महेश बर्तौलाको स्थिति निराशजनक छ । चितवनबाट रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कांग्रेसको बागी जिताउने घोषणा अध्यक्ष ओलीकै लागि महंगो बनेको छ ।

न्यौपानेको उम्मेदवारी कायम रहेको भए उनी बलियो रुपमा अगाडि बढ्ने कुरा त्यहाँको चुनावी माहोलले बताउँछ । स्थानीय पार्टीको सिफारिस र सहमतिविना उम्मेदवार बनाइएका काठमाडौं–१ का किरण पौडेल, ६ का सर्वेन्द्र खनाल, ७ का श्याम घिमिरे, ८ मा वडाध्यक्ष नपत्याइएका शिवसुन्दर राजवैद्य, १० मा हिमेश केसी मैदानमा कमजोर छन् ।

भक्तपुरमा महेश बस्नेतलाई कांग्रेसका प्रतिस्पर्धी दुर्लभ थापा भारी भएका छन् । काभ्रेमा गोकुुल बास्कोटा जित्ने हैन, मतान्तर घटाउने दौडमा पुगेका छन् । दोलखामा बालकृष्ण शिवकोटी ‘पाहुना’ जस्तो भएका छन् । जिल्ला बसेर लामो समय त्याग गरेका नेताले टिकट नपाउने, काठ व्यापारीले काठमाडौंबाट टिकट ल्याउँदैमा जिताउन बाध्य नभएको भन्दै एमालेका थुप्रै कार्यकर्ता छेउ–कुना लागेका छन् ।

सिन्धुपाल्चोकमा अरुण नेपाललाई टिकट नदिनकै लागि सुरेश नेपाललाई उम्मेदवार बनाइँदा चुनावी रौनक आउन सकेको छैन । प्रदेश १ मा एमालेको सम्भावनायुक्त उम्मेदवारमा स्वयं केपी ओली र झापा–४ मा एलपी साँवा हुन् । ताप्लेजुङमा अरु जिल्लाका उम्मेदवारको तुलनामा योगेश बलियो देखिएका छन् । इलाममा सुवास नेम्वाङ अरु उम्मेदवारभन्दा बलियो त छन्, तर जित्न सजिलो छैन ।

मधेस प्रदेशमा सिराहा–३ का लीलानाथ श्रेष्ठ र धनुषाका रघुवीर महासेठ वा जुलीकुमारी महतोबाहेक एमालेले अरुको आश मारिसकेको छ । बागमती प्रदेशमा तुलनात्मक रुपमा बलियो उम्मेदवार चितवन–१ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेल हुन् । काठमाडौं उपत्यकामा काठमाडौं–१ का मणिराम फुयाँल र ९ का कृष्णगोपाल श्रेष्ठबाहेक कुनै पनि उम्मेदवार मैदानमा सजिलोसँग उभिन सकेका छैनन् ।

गण्डकी प्रदेशका दुई क्षेत्रका उम्मेदवार तुलनात्मक रुपमा बलियो छन् । लुम्बिनी प्रदेशमा रुपन्देहीमा विष्णु पौडेल र दाङमा शंकर पोखरेलबाहेकको आश गर्ने ठाउँ छैन । त्यसमा पनि बुटवल कटेपछि शंकर पोखरेलबाहेक एमालेका कोही पनि उम्मेदवार बलियो देखिएनन् । यस पटकको निर्वाचनमा एमालेका निम्ति कर्णाली प्रदेश र सुदूरपश्चिमको परिणाम सबैभन्दा कष्टदायी बन्ने देखिन्छ ।

स्रोत : दृष्टि न्यूज
प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १४:५५