मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सवै राजनीतिक दल चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको कुल १६५ सिटमा प्रतिस्पर्धा हुँदैछ । तर, औलामा गन्न सकिने संख्यामा मात्र महिला उम्मेदवार प्रत्यक्षतर्फ चुनावी मैदानमा छन् ।
समावेशी समानुपातिक प्रतिनिधित्वको मर्मअनुसार कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार प्रत्यक्षतर्फ अपेक्षा गरिएको थियो । तर, सबै राजनीतिक दलले महिलालाई समानुपातिकमा सीमित गराएका छन् । त्यसैले २७ जना महिला मात्र प्रत्यक्षतर्फको प्रतिस्पर्धामा देखिएका छन् ।
नेकपा एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १३९ जनालाई उम्मेदवार बनाएको छ । तर, महिला उम्मेदवार ११ जना मात्र छन् । त्यसैगरी, ९१ क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले ५ र ४६ जनालाई उम्मेदवार बनाएको माओवादीले ८ जना महिलालाई प्रत्यक्षतर्फको चुनावी मैदान उतारेको छ ।
नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक महिला प्रत्यक्षतर्फको चुनावी मैदानमा छन् । मुख्य राजनीतिक दलबाट महिला उम्मेदवार कम भए पनि नयाँ राजनीतिक दलबाट भने महिलो उम्मेदवारको संख्या केही मात्रामा बढी छन् । त्यसैगरी, स्वतन्त्रतर्फ पनि केही महिला उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ थोरै महिला उम्मेदवार भए पनि उनीहरुको प्रतिस्पर्धा निक्कै रोचक हुनेछ । नेपाली राजनीतिमा स्थापित पुरुष नेतृत्वलाई टक्कर दिन कतिपय महिला उम्मेदवार तमतयार छन् ।
पूर्वसभामुख तथा माओवादी नेता आनसरी घर्ती वाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं–२ मा उम्मेदवार छन् । राजनीतिक रुपमा ऐतिहासिक क्षेत्र मानिएको यस क्षेत्रमा ओनसरी नयाँ अनुहार हो । तर, गठबन्धनको साथमा चुनाव जित्ने ओनसरीको दाबी छ ।
यसै क्षेत्रबाट अघिल्लो निर्वाचनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन जितेको छ । यसपटक यो क्षेत्रमा नेकपा एमालेले मणिराम फुँयाललाई उम्मेदवार बनाएको छ । एमालेलेका राम्रै आधार रहेको क्षेत्र मानिएको यस क्षेत्रमा ओनसरीलाई सहज भने छैन ।
निवर्तमान उपसभामुख पुष्पा भुसाल अर्घाखाँचीबाट प्रतिस्पर्धा गर्दैछन् । उनले माओवादी पृष्टभूमीका एमाले नेता टोपबहादुर रायमाझी प्रतिस्पर्धी पाएका छन् ।
माओवादी छोडेर एमाले गएपछि जनाधार गुमाएका टोपबहादुरलाई पराजित गर्न पुष्पालाई माओवादीकै भोट निर्णयक हुने अनुमान गरिएको छ । गठबन्धनले इमानदारपूर्वक मतदान गर्नेमा भुसाल ढुक्क छिन् । यस आधारमा उनलाई केही सहज हुनसक्छ ।
ऊर्जामन्त्री एवं माओवादी नेता पम्फा भुसाल ललितपुर–३ बाट चुनावी मैदानमा छन् । उनी अघिल्लो निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका हुन् । वर्तमान मन्त्री मात्रै नभएर वाम–लोकतान्त्रिक गठबन्धनकै उम्मेदवार पम्फासँग प्रतिस्पर्धा गर्न एमालेका उम्मेदवार अमृत खड्कालाई सहज छैन ।
निरन्तर माओवादीले जित्दै आएको यस क्षेत्रमा एमालेले अपेक्षाकृत सुधार गर्न सकेको छैन । तर, माओेवादीले भने यस क्षेत्रमा पकड जमाउँदै गएको छ । यस आधारमा पम्फालाई केही सहज हुनसक्छ ।
नेकपा एमाले सचिव पद्मा अर्याल स्याङ्जा–२ बाट प्रतिस्पर्धा गर्दै छन् । अघिल्लो निर्वाचन जितेपछि मन्त्रीसमेत बनेका पद्यमालाई यस दोहोर्याउन सहज छैन । स्याङ्जा–२ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ उम्मेदवार छन् ।
धनराज र पद्यमा दुवैको जनआधार राम्रै मानिन्छ । तर, पद्यमालाई आन्तरिक घातको मात्रै पीर छैन, गठबन्धनको भार पनि थेग्नु छ । स्याङ्जामा कांग्रेसको राम्रै रहेको भनिएता पनि अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित पद्यमासँग प्रतिस्पर्धा धनराजलाई सहज भने छैन । तर, गठबन्धनको बलमा जित आफ्नो पक्षमा पार्ने उनको दाउ छ ।
माओवादी काठमाडौं–९ मा कल्पना धमलालाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा प्रभाव भएका नेता कृष्णगोपाल श्रेष्ठलाई एमालेले उम्मेदवार बनाएको छ । यसै क्षेत्रबाट निर्वाचित भएर मन्त्री भएका कृष्णगोपाल बलिया उम्मेदवार हुन् ।
२०६४ को संविधानसभा सदस्यमा धादिङ–२ निर्वाचित भएर मन्त्री बनेका कल्पनालाई यसपटक जित सहज छैन । कृष्णगोपाललाई रैथाने उम्मेदवार भनिएको छ भने कल्पनालाई टुरिष्ट भन्ने गरिएको छ । गठबन्धनले एमानदारपूर्वक मतदान गरे मात्र कल्पनालाई जित सहज हुने छ ।
कांग्रेसले पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई सिराहा–२ मा उम्मेदवार बनाएको छ । उनलाई वाम–लोकतान्त्रिक गठबन्धनको साथ छ । यस क्षेत्रबाट एमाले–जसपा गठबन्धनबाट जसपाका राजकिशोर यादव चुनावी मैदानमा छन् ।
गठबन्धनकै साथ पाए पनि चित्रलेखालाई सहज छैन । किनकी, मधेसी दलहरु एकीकृत नहुँदासम्म राजकिशोर एक राजनीतिक दलका अध्यक्ष नै थिए । उनी मधेसमा राम्रो कपड राख्ने नेता हुन् ।
कांग्रेसको विरासत मानिएका मोरङ–२ मा कांग्रेसले सुजाता कोइरालालाई उम्मेदवार बनाएको छ । सुजाताले एमालेका ऋषिकेश पोखरेल सामना गर्नुपर्नेछ ।
तर, कांग्रेसको राम्रै क्षेत्र मानिएकाले जित सुनिश्ति रहेको सुजाताको दाबी छ । त्यसमा पनि गठबन्धनको साथ मिलेको छ । यो निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता डा. मीनेन्द्र रिजाल विजयी भएका थिए ।
कांग्रेसले सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई मकवानपुर–१ मा उम्मेदवार बनाएको छ । डिनालाई राप्रपा नेपालका अध्यक्ष कमल थापासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । एमालेको चिन्हबाट चुनाव लड्दै गरेका कमलसँगको प्रतिस्पर्धा डिनाका लागि सहज छैन । तर, केही आशा भने छ ।
अघिल्लो निर्वाचनमा जितेको यस क्षेत्र अनाहकमै अध्यक्ष केपी ओलीले कमललाई टिकट दिएपछि एमालेका कार्यकर्ता रिसाएका छन् । त्यस आधारमा पनि आफ्नो जित हुने डिनाको अनुमान छ । सँगै, गठबन्धन दलको पनि आशा छ ।
माओवादीले कञ्चनपुर–१ मा विना मगरलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचन यसै क्षेत्रबाट जितेर मन्त्री बनेका विना यसपटक पनि जित निकाल्ने पक्षमा छन् । यस क्षेत्रबाट नेकपा एमालेले तारा लामालाई उम्मेदपार बनाएको छ ।
यस क्षेत्रमा एमालेको पनि राम्रै मत रहेको मानिन्छ । वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवार भएकाले जित सुनिश्चित हुनेमा विना ढुक्क छन् । तर, उनले सोचेजस्तो सहज भने छैन ।
माओवादीले रेखा शर्मालाई दाङ–२ मा उम्मेदवार बनाएको छ । दुई पटक समानुपातिक सांसद बनेका रेखालाई यसपटक ठूलै चुनौतीको सामना गर्नुपरेको छ । यस क्षेत्रमा एमालेले महासचिव शंकर पोखरेललाई उम्मेदवार बनाएको छ ।
एमाले सारा शक्ति लगाएर महासचिव जिताउने अभियानमा लागेको छ । त्यसैले रेखालाई सहज छैन । तर, रेखाको हिसाव अर्कै छ । वाम–लोकतान्त्रिक गठबन्धनको मतले विजयी हुनेमा उनी ढुक्क छन् । तर, सहज भने छैन ।
एकीकृत समाजवादीले सचिव रामकुमारी झाँक्रीलाई गुल्मी–२ मा उम्मेदवार बनाएकोछ । समानुपातिक सांसद हुँदै मन्त्री समेत भएकाले रामकुमारीलाई यसपटक जित सहज छैन । रामकुमारीले पूर्व नेतृत्व गोकर्ण विष्टको सामना गर्नुपर्नेछ ।
एमालेले यस क्षेत्रमा गोकर्णलाई उम्मेदवार बनाएको छ । गोकर्ण लामो समयदेखि यसै क्षेत्रबाट निर्वाचित हुँदै आएका नेता हुन् । गठबन्धनले इमानदारपूर्वक मतदान गर्ने हो भने रामकुमारीले जित्ने सम्भावना रहन्छ । त्यो नभएको अवस्थामा उनका लागि जित सहज मानिन्न ।
माओवादी नेता अन्जना विशंखे काठमाडौं–१० बाट प्रतिस्र्धा गर्दैछन् । यस क्षेत्रमा भने वाम–लोकतान्त्रिक गठबन्धन हुन सकेन । कांग्रेसका राजेन्द्रकुमार केसी र एमालेका हिमेस केसी अञ्जनाका मुख्य प्रतिस्पर्धी हुन् ।
गठबन्धनबीच सिट बाँडफाँट हुँदा यो क्षेत्र कांग्रेसको भागमा परेको थियो । तर, सहमति विपरीत अञ्जनाले उम्मेदवारी दिएपछि यहाँ गठबन्धन भाडिएको हो । गठबन्धनको साथ नहुने भएकाले अञ्जनालाई जित निकाल्न सहज नहुने देखिन्छ ।
एमाले नेता शान्ता चौधरी दाङ–१ बाट चुनावी मैदानमा छन् । समानुपातिक प्रणालीमार्फत संसद पुगिसकेका शान्तालाई यसपटक सहज छैन । यस क्षेत्रबाट नेकपा एकीकृत समाजवादीका नेता तथा वर्तमान मन्त्री मेटमणी चौधरी वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार छन् ।
अघिल्लो निर्वाचन पनि प्रत्यक्षतर्फबाटै जितेका मेटमणीको प्रभाव राम्रै मानिन्छ । शान्ताका लागि पूर्वसहकर्मी गंगा चौधरी सत्गौवा अर्को चुनौति हो । पार्टीले टिकट नदिएपछि एमाले परित्याग गर्दै गंगाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । गंगाले एमालेकै भोट पाउने हुँदा शान्ताको भोट काटिने र मेटमणीको जित सहज हुने विश्लेषण हुने गरेको छ ।
कांग्रेसले केन्द्रीय सदस्य सीता गुरुङलाई तेह्रथुमबाट उम्मेदवार बनाएको छ । सीतले नेकपा एमालेका नेता विजय सुब्बा प्रतिस्पर्धी पाएका छन् । पहिले एमालेको राम्रै क्षेत्र मानिएको यस क्षेत्र पछिल्लो समय एमालेका लागि अनुकूल छैन ।
एमाले छोडेर पुनः एमाले फर्केका बिजय खासै राम्रो इमेज छैन । विजयले छोडेसँगै कमजोर बनेको एमालेले अवस्था अझै सुधार गर्न सकेको छैन । त्यसैले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सीत जित सुनिश्चित हुनेमा ढुक्क छन् । सीता यसअघि पनि प्रतिनिधिसभा सदस्य थिए ।
नेपाल समाजवादी पार्टीका मानुषी यमी भट्टराई माओवादीको चुनाव चिह्न दिएर काठमाडौं–७ बाट प्रतिस्पर्धामा छन् । प्रमुख प्रतिस्पर्धी पार्टी भएमालेले यस क्षेत्रमा खासै नसुनिएका र नचिनिएका श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ ।
यस क्षेत्रमा एमालेका रामबीर मानन्धर समेत बागी उम्मेदवारको रुपमा प्रतिस्पर्धामा छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मानुषीलाई कमजोर उम्मेदवार र एमालेको बागीकै कारण जित सहज हुने विश्लेषण हुने गरेको छ । युवामाझ लोकप्रिय मानुषीले चुनावी जिते उनको पहिलो संसदीय यात्रा हुनेछ ।
एमाले नेता जुलीकुमारी महतो धनुषा–३ चुनावी मैदानमा छन् । जुलीले मधेसमा राम्रै कपड भएका नेता प्रतिस्पर्धी पाएका छन् । एमाले–जसपा गठबन्धनका उम्मेदवार जुलीसँग प्रतिस्पर्धा गर्न वाम–लोकतान्त्रिक गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिकुमार झालाई उम्मेदवार बनाएका छ ।
२०७४ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका जुलीलाई यसपटक सहज छैन । विगतमा मधेसी पार्टी नै नेतृत्व गरेको अनिलको जनमत राम्रै देखिन्छ । त्यसमा पनि गठबन्धनकै साथ पाएपछि जित सहज हुने अनिलको अनुमान छ ।
कास्की–२ मा विद्या भट्टराई नेकपा एमालेका उम्मेदवार हुन् । विद्याले वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बराल प्रतिस्पर्धी पाएका छन् ।
तत्कालीन पर्यटनमन्त्री एवं कास्की–२ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा विद्या निर्वाचित भएका थिए । विद्यालाई प्रभावशाली युवा नेता तथा श्रीमान रविन्द्रको साख धान्ने नेताको रुपमा हेरिए पनि यसपटक सहज छैन । विद्यालाई पनि गठबन्धन नै चुनौती हुने छ ।
नेकपा एमालेले उदयपुर–१ मा मञ्जुकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ । मञ्जु एमाले–जसपा गठबन्धनबाट चुनावी मैदानमा छन् । मञ्जुले कांग्रेसका प्रभावशाली नेता डा. नारायण खड्कासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
नारायण वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् । मञ्जु अघिल्लो निर्वाचनमा पनि नारायणसँगै पराजित भएका थिए । मञ्जुले पाँच वषपछि उनै पुरानै प्रतिस्पर्धी पाएका छन् । तर, यस पटक पनि जित सहज छैन ।
नेकपा एमालेले मधेस प्रदेशका सह–इञ्जार्ज ज्वालाकुमारी साहलाई बारा–३ मा उम्मेदवार बनाएको छ । माओवादी पृष्टभूमीका पूर्व प्रदेशमन्त्री समेत रहेका ज्वालालाई सहज छैन । एमालेले जसपासँग तालमेल गरेको भए पनि ज्वालाको क्षेत्रमा जसपाबाट रामबाबुकुमार यादव प्रतिस्पर्धामा छन् ।
यस क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनबाट लोसपाका लालबाबु सिंह प्रतिस्पर्धामा छन् । यसरी हेर्दा ज्वालालाई दोहोरो चुनौती छ । एमालेका साथ नपाएका ज्वालालाई गठबन्नका उम्मेदवार भारी पर्ने देखिन्छ ।
एमालेले मञ्जु शर्मा चालिसेलाई बाग्लुङ–२ बाट उम्मेदवार बनाएको छ । मञ्जुले शिक्षामन्त्री एवं वाम–लोकतान्त्रिक गठबन्धनका माओवादीका उम्मेदवार देवेन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । बाग्लुङ–२ माओवादीको राम्रो आधार भएको क्षेत्र मानिन्छ ।
त्यसमाथि मन्त्री भएपछि देवेन्द्रले यस क्षेत्रमा राम्रो काम गरेका छन् । त्यस आधारमा मञ्जुभन्दा देवेन्द्रलाई बलियो मान्छि । मञ्जु केही समयअघि मात्र कांग्रेस परित्याग गरेर एमाले प्रवेश गरेका हुन् । एमाले नेता–कार्यकर्तासँग राम्ररी चिनजान नै नभइ टिकट पाएका मञ्जुलाई जित हासिल गर्न सहज देखिन्न ।
एमालेले केन्द्रीय सदस्य निरुदेवी पाललाई कञ्चनपुर–३ मा उम्मेदवार बनाएको छ । यसअघि समानुपातिकतर्फबाट सांसदका निरु पहिलोपकट प्रत्यक्ष निर्वाचनको मैदानमा छन् । तर, हेभिवेट प्रतिस्पर्धी पाएका छन् ।
यस क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनबाट पूर्वमन्त्री रमेश लेखक चुनावी मैदानमा छन् । विगतमा यसै क्षेत्रबाट निर्वाचित भएर मन्त्रीसमेत भइसकेका रमेशले राम्रै प्रभाव पारेका छन् । त्यसमा पनि गठबन्धनकै साथ पाएपछि जित सुनिश्चित हुनेमा ढुक्क छन् । पहिलो पटक प्रत्यक्षतर्फको मैदान निरुलाई भने सहज देखिन्न ।
एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा एमालेले गौरीकुमारी ओलीले उम्मेदवार बनाएका छन् । गौरीले पूर्वमन्त्री प्रेम आले प्रतिस्पर्धी पाएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता प्रेम गौरीका लागि सामान्य उम्मेदवार होइनन् ।
उनी यसअघि यसै क्षेत्रबाट निर्वाचित भएर मन्त्री बनेका हुन् । एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका प्रेमले एमालेका ठूलो मत आफूसँगै सारेका छन् । त्यसमा पनि गठबन्धनको साथ पाएका छन् । यस आधारमा पनि गौरी कमजोर देखिएका छन् ।
एमालेले सुनसरी–३ मा भगवती चौधरीलाई उम्मेदवार बनाएको छ । भगवतीका लागि यो हारको बदला लिने महत्वपूर्ण अवसर हो । भगवतीले पुरानै प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
दोस्रो संविधानसभा निर्वाचन २०७० र ०७४ को निर्वाचनमा गच्छदारसँग भगवती पराजित भएका थिए । त्यसैले बदला लिने अवसर भनिएको हो । तर, यसपटक पनि भगवतीलाई सहज छैन । विगतमा जित्दै आएका गच्छदानर नै गठबन्धनको बलमा झनै बलियो भएर प्रतिस्पर्धामा आएका छन् ।
माओवादीले गोमा गौतम कुँवरलाई जुम्लामा उम्मेदवार बनाएको छ । यस क्षेत्रमा एमालेबाट रतननाथ योगी उम्मेदवार छन् । गोमाका लागि रतननाथ मुख्य प्रतिस्पर्धी हुन् । सँगै, अनेक हल्लाखल्ला गरेर राप्रपा प्रवेश गरेका ज्ञानेन्द्र शाही पनि प्रतिस्र्धामा छन् ।
यस क्षेत्रमा राप्रपाको खासै मत छैन । तर, पनि राष्ट्रिय स्तरमा चर्चा कमाएकै कारण ज्ञानेन्द्रले केही भोट पाउने अनुमान गरिएको छ । गोमा भने वाम–लोकतान्त्रिक गठबन्धनको मतले विजयी हुनेमा विश्वस्त छन् ।
नेकपा एमालेका नेता कोमल वली दाङ–३ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार हुन् । राप्रपाबाट एमाले पुगेका वलीलाई २०७४ मा एमालेले राष्ट्रियसभा सदस्य बनाएको थियो । यसपटक प्रत्यक्षतफ निर्वाचनबाट प्रतिनिधिसभाको यात्रा तय गर्ने तयारीमा रहेका वलीले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सामना गर्नुपर्नेछ ।
दाङ–३ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका दीपक गिरी उम्मेदवार छन् । गठबन्धनको उम्मेदवार भएकै आधारमा भन्ने हो भने दीपकलाई सहज हुनसक्छ । तर, एमालेका वली पनि कमजोर उम्मेदवार भने होइनन् ।
विवेकशील साझा पार्टीका पूर्वनेता रञ्जु दर्शना काठमाडौ–५ बाट प्रतिस्पर्धामा छन् । उसपटक भने उनी स्वतन्त्र उम्मेदवार हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरमा प्रतिस्पर्धा गरेका रञ्जुले राम्रै मत पाउँदै लोकप्रियता कमाएका थिए ।
तर, यसपटक भने रञ्जुलाई सहज छैन । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार युवा नेता प्रदीप पौडेल र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको प्रतिस्पर्धा सहज देखिन्न ।
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं