सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

मतदाता भन्छन्, ‘नेता ज्यू ! नमस्कार गर्न नआउँदा हुन्छ’

निर्वाचन जित्नुअघि मतदातामुखी, जितेपछि कार्यकर्तामुखी बन्छन् नेता ।

आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन अब ठीक एक साता बाँकी छ । यस चुनावमा कर्णाली प्रदेशका १० जिल्लाको प्रतिनिधिसभा सदस्यको १२ सिटमा ७६ र प्रदेशसभा सदस्यको २४ सिटका लागि ११६ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

चुनावको दिन नजिकिँदै गर्दा सबै दलका उम्मेदवारहरू आफ्नो जितका लागि मतदाताका घरदैलो गरिरहेका छन् । उनीहरू त्यसमा मात्र सीमित नभएर धारापँधेरा र खेतबारीसम्म पुगेर मतदातासँग भोट मागिरहेका छन् । उम्मेदवारहरू निकै जोशका साथ चुनावी प्रचारप्रसारमा लागे पनि मतदातामा त्यस्तो उत्साह देखिँदैन ।

विभिन्न दलसम्बद्ध उम्मेदवारले जिल्लाका आकर्षक ठाउँमा आम सभा गरिरहँदा मतदाता खेतबारीमै काम गर्न व्यस्त छन् । यतिबेला धान थन्क्याउन किसान व्यस्त छन् । सूचना र प्रविधिको तीव्र विकासले होला, एक दशकदेखि अधिकांश नागरिक विभिन्न सञ्चार माध्यमले प्रवाह गर्ने समाचार र सामाजिक सञ्जालबाटै विभिन्न दल, नेता, व्यक्ति र उनीहरूले गरेका कामका बारेमा सहजै जानकारी राख्दछन् ।

चुनावका बेला दल तथा उम्मेदवारहरूले सार्वजनिक गर्ने घोषणापत्र, प्रतिबद्धता र दिने आश्वासन कागजमा होइन, उनीहरूले मष्तिष्कमै कैद गरेको पाइन्छ । एकातिर नागरिकमा राजनीतिक चेतनास्तर वृद्धि हुँदै जानु अर्कोतिर चुनावका बेला प्रतिबद्धता व्यक्त गर्दै भएभरका आश्वसन दिएर चुनाव जितिसकेपछि सिन्को नभाँच्ने नेताहरूको प्रवृत्तिप्रति मतदाताहरूको चरम वितृष्णा नै छ ।

चुनावी नारा, भाषण, आश्वासन दिने संस्कारप्रति उनीहरू राम्रैसँग परिचित भएका छन् । व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न कुनै पनि नेतृत्व सही काम नगरेकोप्रति मतदाताको आक्रोश छ । संविधान र सङ्घीय व्यवस्था राम्रो लाग्दा लाग्दै त्यसको सही व्यवस्थापन एवं कार्यान्वयन हुन नसकेकाले भुइँ मान्छेहरूका आधारभूत आवश्यकता परिपूर्ति भएका छैनन् ।

हिजो जितेकाहरूको पाँच वर्षीय अवधि सकिएपछि यो चुनावमा फेरि भोट माग्ने नेताहरू भने घरदैलो गर्दैछन् । गठबन्धन दल, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका सबै दलका उम्मेदवारहरू मतदाता कहाँ पुग्ने गरेका छन् । कर्णालीमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका १५ दल यतिबेला चुनावी मैदानमा छन् ।

दलहरूको चुनावी प्रचारशैली विगतभन्दा खासै फरक देखिँदैन । उनीहरूका घोषणापत्र, प्रतिबद्धता र वाचाप्रति मतदाताले विश्वास गर्न छोडेका छन् । भोट माग्नकै लागि मात्र यो समयमा घरदैलो तथा खेतबारीमा पुगी नमस्कार गर्ने उम्मेदवारलाई भने मतदाताहरूले तीतो महसुस गर्ने गरी जवाफ दिएर फर्काउने गरेका छन् ।

पश्चिम सुर्खेतको अत्यन्तै विकट मानिने चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिकाका मतदाता अमर सारु मगरले घर तथा खेतबारीमा आएर नमस्कार गर्न आउने उम्मेदवारलाई नमस्कार नगरेरै उत्तैबाट फर्कन सुझाव दिएका थिए । उनीजस्तै धेरै मतदाताहरू चुनावका बेला आएर नमस्कार गर्ने नेताहरूको नमस्कार खाएर केही नहुने बताउँछन् ।

राप्रपा नेपालबाट सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका भीमबहादुर शाहीले मतदातालाई उम्मेदवारप्रति कुनै मतलब नभएको बताए । उनका अनुसार चुनावलाई मात्र केन्द्रित गरेर घरमा आउने र नमस्कार गर्ने भन्दै आफूजस्ता थुप्रै उम्मेदवारलाई ठाडै अस्वीकार गरेका थिए ।

शाहीले भने, ‘हामी नमस्कार गर्दै भोट माग्न मतदाताहरूको घरदैलोमा पुग्यौँ तर उहाँहरूले नेताज्यू ! नमस्कार नगर्दा हुन्छ भन्दै ठाडो जवाफ दिनुभयो ।’ मत माग्न जाँदा उम्मेदवारप्रति उनीहरूको दृष्टिकोण नै आक्रोशपूर्ण भाव देखिएको उनले बताए । विगतका उम्मेदवारले गरेका वाचा र प्रतिबद्धता पूरा नगरेपछि अहिले त्यसको सजाय आफूजस्ता नयाँ उम्मेदवारहरूले भोग्नुपरेको उनले दुखेसो गरे ।

शाहीका अनुसार मतदाताहरूले नयाँ उम्मेदवार जितिसकेपछि त्यही ‘सड्या आलु त हुन्या’ होलान् भनेर प्रतिप्रश्न गर्ने गर्दछन् । सामान्य नागरिकहरू आफ्ना आधारभूत आवश्यक परिपूर्ति गर्ने नेतृत्व भइदिए हुन्थ्यो इच्छा व्यक्त गर्दछन् । राजनीति बुझेका कार्यकर्ताहरू आफ्नै दलबाट पीडित भएको अभिव्यक्ति दिन्छन् ।

उनी भन्छन्, ‘मुलतः मतदाताहरू भाषण सुन्नै चाहँदैनन् । उनीहरू काम गर्ने, समाजमा व्याप्त गरिबी र बेरोजगार मुक्त गर्ने नेतृत्व एवं सरकार चाहन्छन् । युवाहरूले स्वदेशमै रोजगारी र स्वतःस्फूर्त काम गर्ने वातावरण भएन भन्ने गुनासो पोख्छन् । गाउँमा मत माग्न जाँदा गुनासोका चाङ भेटिन्छन् । आक्रोशपूर्ण अभिव्यक्ति सुनिन्छन् र पीडैपीडाका कथा भनिन्छन् ।’

तिला गाउँपालिका–४ जुम्लाका स्थानीय निराजन गौतमले आजसम्म चुनावमा जितेर गएका नेताहरू ‘जति जोगी आए पनि कानै चिरिएका’ भने जस्तै हुँदै गएको टिप्पणी गरे । ‘चुनावको बेला नमस्कार गर्नेहरू खास अरू बेला किन गर्दैनन् । यतिबेला मात्र किन गर्छन् ? के त्यो नमस्कारभित्र स्वार्थ लुकेको छ भन्ने कुरामा के आजको मतदाता थोरै पनि ज्ञान राख्दैन र ?’ प्रश्न गर्दै उनले भने, ‘उम्मेदवारहरूले आफ्नो स्वार्थपूर्तिका लागि गर्ने नमस्कार स्वीकार गर्न आवश्यक छैन ।’

नमस्कार गरेकै आधारमा नेताहरूलाई भोट हाल्छन् भन्ने भ्रम नपाल्नसमेत गौतमले नेताहरूलाई आग्रह गरे । चुनावका बेला यहाँ आएर माई जिताई दिनुस् भनेर मतदाताहरूसँग अनुनय विनय गर्छन् तर जितिसकेपछि आफ्ना आसेपासेहरूलाई हेर्ने रोगले उनीहरू ग्रसित हुन्छन् र मतदाताको मतदानलाई बेवास्ता गर्छन् ।

‘जित्नुअघि मतदातामुखी, जितेपछि कार्यकर्तामुखी’


नागरिकको बुझाइअनुसार कुनै पनि चुनावले जनताको मर्म, पीडा र समस्या बुझ्ने नेतृत्व चयन हुन सकेन । पुरानाले काम गरेनन् भनेर नयाँलाई जिताइए पनि ती पुरानाभन्दा झनै भ्रष्ट भएको जुम्लाका स्थानीय महिला रन्नसरा सुनारले दुखेसो पोखिन् । चुनावका बेला घरमै आएर तपाईंका समस्या के छन् ? के गर्दिनुपर्ने हो भन्दै भोट माग्छन्,’ सुनारले भनिन्, ‘जितेपछि न हाम्रो नमस्कार सुन्छन् न समस्याको खोजीनीति नै गर्छन् ।’

चुनावका बेला मतदातामुखी हुने नेताहरू जितिसकेपछि आफ्ना कार्यकर्ता र आसेपासे पाल्न व्यस्त गरेको उनले गुनासो पोखिन् । चन्दननाथ नगरपालिका–७ जुम्लाका स्थानीय सम्झना महतले चुनावमा भोट खरिद बिक्री हुने गरेको जनाइन् । विसं २०७९ को स्थानीय तह चुनावमा धेरै मतदाताले रु दुई हजार ५०० सम्म खाएर आफ्नो मत बिक्री गरेको जनाउँदै उनले भनिन्, ’मतदाताबाट मतदान भएको छैन, बिक्री भइरहेको छ । मत किनेर जितेको नेताले जनताको भावना बुझ्ला भन्ने आश पनि हुने कुरा भएन ।’

‘नीति बनाउँछन्, कार्यान्वयन गर्दैनन्’


कर्णालीका राजनीतिक विश्लेषक पीताम्बर ढकालले नेतृत्वको व्यक्तित्व र चरित्रमाथि प्रश्न राख्ने चेतना विकास नागरिकमा बढ्दै गएको बताए । उनले भने, ‘चुनाव र उम्मेदवारमा मतदाताको रुचि देखिएन । स्वतन्त्र उम्मेदवारप्रति समेत उनीहरूको विश्वास छैन ।’ विश्लेषक ढकालका अनुसार नागरिकमा चेतनाको वृद्धि हुँदै जानुमा यो सूचना र प्रविधि विकासको उपलब्धि हो । चुनाव जित्ने हार्ने आफ्नो ठाउँमा छ ।

सामाजिक सञ्जालबाटै नेता र नीतिका विषय उनीहरूले खबरदारी राख्न थालेका छन् । जनताको मत लिएर माथि पुग्ने नेतृत्वले नीति बनाएर कार्यान्वयन नगर्दा जनताको मत र उनीहरूको सोच पूरा हुन नसकेको उनको भनाइ थियो । जनता समाजवादी पार्टीका सुर्खेत क्षेत्र नं २ (क) गगनबहादुर सारुले मतदाताले नयाँ अनुहार चाहेको बताए । ठूला दलहरूले जनताका पक्षमा कहिल्यै काम नगर्दा उनीहरूमा वितृष्णा जागेको र साना दलका उम्मेदवारप्रति आशा पलाएको उनले जनाए ।

उम्मेदवार घरदैलोमा पुग्दा सुर्खेतमा त्यस्तो उत्साह नदेखिएको भन्दै सारुले भने, ‘ठूला दलहरूले गरेको कामले जनतामा निराशा र आक्रोश पैदा भएको छ । यसले गर्दा हामीलाई मतदाताका नजिक पुगेर विश्वास दिलाउन र एकपटक काम गर्ने अवसर दिनुस् भन्न पनि अप्ठ्यारो भएको छ ।’ मतदाताहरूले उम्मेदवारसँग सद्भाव साटासाट गर्नसमेत नचाहेको उनले बताए ।

निर्वाचन आयोगका अनुसार यो चुनावमा कर्णालीका १० जिल्लामा १० लाख ८५ हजार ४०३ मतदाताले मतदानमा भाग लिँदैछन् । यसमा डोल्पामा २२ हजार ४४०, हुम्लामा ३२ हजार ८५७, मुगुमा ३४ हजार ९६२, जुम्लामा ६८ हजार ३४४ र कालिकोटमा ७२ हजार ८० मतदाता छन् । त्यस्तै रुकुम पश्चिममा ९२ हजार ३४७, जाजरकोटमा एक लाख तीन हजार ३६३, सल्यानमा एक लाख ५७ हजार ७०१, दैलेखमा एक लाख ४८ हजार ६७६ र सुर्खेतमा दुई लाख ४३ हजार ६१४ जना मतदाता सङ्ख्या रहेको आयोगको तथ्याङ्कमा छ ।

स्रोत : रासस
प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १६:३४