दार्चुलामा नेकपा एमालेका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै सत्तारुढ गठबन्धनमा आवद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन् ।
जिल्लाको गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा नेकपा माओवादी र नेपाली काँग्रेसका कार्यकर्ताहरुले हिजो आइतबार रातिदेखि सडक अवरुद्ध पारेका हुन् ।
हिजो नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आयोजित आमसभामा गइरहेका एमाले कायकर्ताबीच झडप भएको थियो ।
गठबन्धनका कार्यकर्ताले झडपमा संलग्न एमाले कार्यकर्तालाई पक्राउ नगरेसम्म सडक नखुलाउने बताएका छन् । गठबन्धनले जिल्लाभरका सयौं कार्यकर्तालाई धुलीगडा खेडा क्षेत्रमा उतारेर सडकमा चक्काजाम गरेको एमाले दार्चुलाले जनाएको छ ।
एमाले नौगाड गाउँपालिकाका अध्यक्ष जनकसिंह ठगुन्नाका अनुसार सडक बन्द गरिएपछि नौगाडमा भएको एमालेको चुनावी सभामा गएका कार्यकर्ता तथा स्थानीय सर्वसाधारणहरु घर फर्कन सकिरहेका छैनन् ।
कार्यक्रममा लागि गएका कलाकारसहितका सहभागी स्थानी तथा कार्यकर्ताहरु होपरीगाड जामिर क्षेत्रमै थुनिएका छन् । यता, गठबन्धनमा रहेको नेकपा माओवादी दार्चुलाले भने एमालेका कार्यकर्ताले आफ्ना कार्यकर्ताहरुमाथि घरमै गएर समेत कुटपिट गरेको जनाएको छ ।
कुटपिटमा संलग्न एमाले कार्यकर्तालाई कारबाही गरिनुपर्ने गठबन्धनको माग छ । यस्तै दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने सुरक्षा बैठक राखेर सडक खुलाउने प्रयास भइरहेको बताएका छन् । हिजोदेखि प्रयास भइरहेकोमा गठबन्धनले नमानेका कारण अहिले पनि प्रयास जारी रहेको उनको भनाइ छ ।
यस्तो थियो घटना
हिजो नौगाड गाउँपालिका वडा नम्बर ६ बाट एमालेका कार्यकर्ताहरु चुनावी सभामा जान लागेका थिए । त्यस क्रममा एमालेको गाडी तथा कार्यकर्तालाई रोकेपछि झडपको अवस्था पैदा भएको थियो ।
झडपमा परी नौगाड गाउँपालिका–६ का गठबन्धनका ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका– ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका थिए ।
आक्रमणमा घाइते भएका धामी नेकपा माओवादी केन्द्र दार्चुला काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्षसमेत हुन् । धामीको टाउकोमा रडले प्रहार गरिएको बताइएको थियो । उनको अहिले धनगढीमा उपचार भइरहेको छ ।
दोस्रो झडप
दार्चुलामा यसअघि पनि गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको थियो । अस्ति कार्तिक २४ गते अपि हिमाल गाउँपालिका–५ ओखलमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो ।
एमाले प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशीको टोलीमाथि गठबन्धनका कार्यकर्ताले प्रचारमा अवरोध गरेपछि झडप भएको थियो ।
उक्त झडपमा एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी र गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका ६ का २० वर्षीय जहेन्द्रसिंह धामी र २४ वर्षीय जगतसिंह धामी घाइते भएका थिए ।
सत्यपाटी संवाददाता । दार्चुला