सूचनाको शक्ति - The Power Of Information

        

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्दै महिला तथा बालबालिका

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्ने महिला तथा बालबालिकाको संख्या बढ्दै गएको छ । बितेका तीन महिनामा मात्र नेपालगन्जस्थित सीमा नाका जमुनाह हुँदै जोखिमपूर्ण यात्रामा रहेका करिब दुई हजार महिला तथा बालबालिकालाई आवश्यक परामर्श दिइएको छ ।

मानव बेचविखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहको नेपालगन्जस्थित कार्यालयले बितेका तीन महिनामा नेपालगन्ज नाकामा एक हजार ९९५ महिला तथा बालबालिकालाई परामर्श दिएको संस्थाका जिल्ला संयोजक निर्मल सुवेदीले जानकारी दिए ।

उनका अनुसार साउनमा ८०५, भदौमा ७१८ र असोजमा ४७२ असुरक्षित तथा जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई परामर्श दिइएको हो । यसमा अधिकांश अविवाहित रहेका छन् । एक हजार ४९४ अविवाहित तथा बालबालिका रहेका छन् ।

नेपालगन्ज नाकामा अन्य सामाजिक संघ संस्थाले समेत जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई परामर्श दिने गरेका छन् । यो तीन महिनाको अवधिमा शान्ति तथा पुनःस्थापना केन्द्रले ७० जनाको उद्धार गरेको छ ।

त्यसमध्ये ४७ जनालाई अभिभावकको जिम्मा लगाइएको र २३ जनालाई प्रहरीको रोहवरमा परिवारको जिम्मा लगाइएको संयोजक सुवेदीले जानकारी दिए । शान्ति तथा पुनःस्थापना केन्द्र बाँकेमा बितेका तीन महिनामा खोजतलासका लागि ६३ निवेदन परेका छन् ।

यो समयमा रोजगारीका लागि भारतका विभिन्न सहर जान हिँडेका अधिकांश महिला तथा बालबालिका जोखिमपूर्ण अवस्थामा भेटिने गरेको केन्द्रका क्षेत्रीय संयोजक भूमि भट्टराईले बताए । उनले नेपाल प्रहरीसँगको समन्वयमा जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा बालबालिकालाई आवश्यक परामर्श र उद्धारका कार्य गर्ने गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १३:२४