सूचनाको शक्ति - The Power Of Information

        

कैलालीमा पार्टी कार्यालयमा ढुंगामुढा, गठबन्धनको गाडी तोडफोड

नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय टीकापुरमा आइतबार राति ढुंगामुढा गर्दै तोडफोड गरिएको छ । पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार राती साढे १२ बजे अपरिचित समूहले ढुंगामुढा गरेको थियो ।

रञ्जिताको बसाइँ पनि पार्टी कार्यालयमै थियो । ढुंगामुढा गर्ने समूहभित्र भने छिरेन । राती नै प्रहरी प्रशासनलाई खबर गरिए पनि प्रहरीको फोन नउठेको अध्यक्ष चौधरीको भनाइ छ । पार्टीले पत्रकार सम्मेलन गरेर ढुंगामुढाको भर्त्सना गर्ने जनाएको छ ।

यसैबीच, कैलालीमा सत्तारुढ–गठबन्धनका उमेदवारको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा तोडफोड भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘ख’ सत्तारुढ–गठबन्धनका उमेदवार अमरबहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ ।

आइतबार घरदैलोका क्रममा वडा नं.५ को भगड्डीम गाउँमा रोकी राखेको गाडीमाथि तोडफोड भएको हो । तोडफोडबाट से १ च १५९० नम्बरको गाडीको पछाडिको भागको सिसा फुटेको छ । आइतबार राति ८ बजे चुनावी प्रचारमा गाउँमा गएका बेला रोकी राखेको गाडीमा कसले तोडफोड गरेको हो भन्ने पचिहान हुन सकेको छैन । गाडी तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार ०९:४१