सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

हिमपातसँगै चिसो बढ्यो, सावधानी अपनाउनू : मौसम विभाग

देशका केही स्थानमा हल्का बर्षासँगै हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

केही दिनयता तापक्रम घट्न थालेको छ । तापक्रम घट्दा चिसो भने बढ्दै गएको छ । हिमाली भू–भागमा हिमपात सुरु भइसकेको छ ।

हिमपात सुरु भएसँगै चिसो बढ्न थालेपछि यसबाट बच्न आवश्यक सावधानी अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

‘तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ,’ विभागले भनेको छ ।

हिमपातका कारण पर्वतारोहणमा पनि अवरोध आउन सक्ने विभागको भनाइ छ । पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन विभागको आग्रह छ ।

यसैबीच, आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रदेश–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार ०६:४५