सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा भूकम्पको डर, प्रहरीद्वारा घर बाहिर बस्न ‘माइकिङ’

खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ ।

पाटादेवल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो ।

‘मङ्गलबार राति आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम भन्दै माइकिङ गरिरहेका छौँ,’ उनले भने । उनका अनुसार पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँमा घरबाहिर आगो ताप्दै बसेका थिए ।

खप्तडछान्ना–५ मा पनि स्थानीयबासी आगो ताप्दै रातभर बाहिर बसेका छन् । मङ्गलबारको भूकम्पमा चर्किएका घर थप चर्किएपछि स्थानीयवासी चिन्तित भएको स्थानीय कुलप्रसाद जोशीले बताए ।

जिल्ला सदरमुकाम चैनपुरवासीले सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन् । घटनाबारे जानकारी आइनसकेको प्रहरी सहायक निरीक्षक बमले जानकारी दिए ।

स्रोत : रासस
प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतवार ०७:४९