सूचनाको शक्ति - The Power Of Information

        

मदिराजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध

सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ ।

प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर ४ मा हुने निर्वाचन प्रचारप्रसार कार्य तीव्ररुपमा बढेकाले यसलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट सम्पन्न गर्ने ध्येयले शुक्रबारदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको हो ।

‘निर्वाचन मतपरिणाम घोषणा नभएसम्म यस जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न दिइने छैन,’ प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनले भने, ‘मङ्सिर ४ गते मतदान हुनुभन्दा २४ घण्टा अगावै ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकरजस्ता विष्फोटनमा प्रयोग हुनसक्ने सामग्रीको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय भएको छ ।’

उक्त निर्णयको पूर्ण परिपालना गर्न गर्न गराउन जिल्लाका सबै राजनीतिक दल, उद्योगी, व्यापार व्यवसायी, आमसञ्चार माध्यम र सर्वसाधरणमा अनुरोध गरिएको प्रजिअ रिजालले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार १३:२६