विश्वका प्राचीनतम अन्नबालीहरू मध्ये कागुनो पनि एक हो । नेपालको पहाडी क्षेत्रमा खेती गरिने यो बाली कोदोबाली अन्तर्गत पर्दछ । फ्याउराका पुच्छरजस्ता बाला हुने भएकोले अङ्ग्रेजीमा यसलाई फक्स्टेल मिलेट (Foxtail millet) भनिन्छ ।
नेपालका रामेछाप, गोरखा, लमजुङ, डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालिकोट, बाजुरा र बझाङ जिल्लाहरूका असिञ्चित, कमसल, सीमान्त वा रूखो जग्गामा यसको खेती गर्ने गरेको पाइन्छ । नेपालमा कागुनोको औसत उत्पादन ८१५ केजी प्रति हेक्टर छ ।
पोषणका दृष्टिले प्रोटिन, चिल्लो पदार्थ र खनिज पदार्थका आधारमा धान र गहुँ भन्दा कागुनोलाई श्रेष्ठतर मानिन्छ । कागुनो प्रायः फागुनमा मकैसँगै छरिने छिटो पाक्ने अन्न हो । यसलाई धानजस्तै सुकाएर ढिकीमा कुटी चामल निकालेर भात खाइन्छ ।
ग्लुटोनरहित प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता खनिज पदार्थका लागि कागुनोलाई दैनिक खानामा समावेश गर्न सकिन्छ । कागुनोमा ठोस फाइबर हुने हुँदा पाचनक्रिया सहज हुन्छ । मधुमेह अथवा सुगरहरुका रोगीका लागि सेतो चामलको सट्टा कागुनो बढी स्वस्थकर मानिन्छ ।
रक्तचाप नियन्त्रणमा पनि यसको महत्वपूर्ण योगदान हुन्छ जसका कारण हृदयाघातको जोखिम कम हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा बढी पाइन्छ । चिनो कागुनोजस्तै यो पनि ग्लुटोनरहित खाद्यपदार्थ हो जसमा निकै मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, निएसिन (भिटामिन बी ३) तथा एसिडजस्ता खनिज पाइन्छ ।
नेपालमा हालसम्म कागुनो बालीको खासै अनुसन्धान नभएकाले कुनै पनि उन्नत जातहरू सिफारिस गरिएका छैनन् । नेपालमा खेती गरिने कागुनोका स्थानीय जातहरू कालो कागुनो, सेतो कागुनो, रातो कागुनो,पहेंलो कागुनो, खैरो कागुनो, सानो कागुनो, ठूलो कागुनो आदि नामले चिनिन्छन् ।
जीन बैंकमा संरक्षित बिभिन्न जिल्लाका ३० किसिमका कागुनोका नमूनाहरू अनुसन्धान गर्दा पाक्ने अवधि, बोटको उचाइ, बालाको साइज, पात र दानाको रङ, झुस र टुँडोका आधारमा विविधता पाइन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं