सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज–बघौडा हुलाकी सडक निर्माण कार्य २४ दिनपछि सुचारु


गुरमुरत यादव/बाँके । बाँकेको नेपालगन्जदेखि बघौडासम्मको हुलाकी सडक निर्माण कार्य दुई समुहको बिवादले गर्दा उत्पन्न अवरोध साम्य भई २४ दिनपछि पुनः काम सुरु भएको निर्माण कम्पनीले जनाएको छ । हुलाकी सडक निर्माण गर्न सब कन्ट्रयाक्टमा काम गर्दै आएको गणपति गु्रप अफ कन्सट्रक्सन प्रालिले काम गर्ने साईडमा सुरक्षाको कारण देखाउँदै असोज १६ गते देखि काम रोकेको थियो ।
स्थानीय र गिटी बालुवा ठेकेदार कम्पनीको गुण्डागर्दीको कारण आफुहरुलाई काम गर्ने बाताबरण नभएको बताउदै राष्ट्रिय गौरबको आयोजना मध्येको बघौडा–नेपालगञ्ज हुलाकी सडकको निर्माण कार्य गत २४ दिनदेखि ठप्प भएकोमा जिल्लास्थित सरोकारवालाको समन्वयमा मंगलवारदेखि निर्माण कार्य फेरि सुचारु भएको गणपती गुरुप अफ कन्सट्रक्सन प्रालिका चेयरमैन तुलसीराम भण्डारीले बताए । नेपालगन्जदेखि बघौडासम्मको हुलाकी सडक निर्माणको ठेक्का लिएको पप्पु लुम्बिनी जे भी काठमाण्डौले ३० महिनामा निर्माण पुरा गर्ने सम्झौता गरेकोमा गत चैत्र १५ देखि गणपती गुरुप अफ कन्ट्रक्सनले सव कन्ट्रयाक्ट गर्दै निर्माण कार्य सुरु गरेको भए पनि कार्य क्षेत्रमा काम गर्ने वातावरण नभएको भन्दै काम ठप्प भएको थियो ।
कन्सट्रक्सनका चेयरर्मैन भण्डारीले बिभिन्न बाहनामा अनावश्यक माँग राखेर काममा अवरोध हुने गरेको बताए । उनले पछिल्लो पटक गिटी बालुवाको ठेक्का लिएका ठेकेदारले बाधा अवरोध पु¥याउदा २४ दिन काम अवरुद्ध भएको बताए । उनले गत फागुनमा कन्ट्रयाक्ट भएदेखि हालसम्म पटकपटक गरी ४५ दिनभन्दा बढी काम रोक्नुपरेको गुनासो गरे । उनले भने, ‘हामीले रोडा, गिट्टी र बालुवा गत वर्षकै स्टकबाट काम चलाउदै आएका थियौ तर गत असोज १६ गते साँझ ढुंगा गिटी बालुवाको ठेक्का लिएको सपना टे«डर्सका कर्मचारी हातमा घरेलु हातहतियार लिएर स्टकबाट फिल्ड साईट तर्फ माल लिएर जानलागेको टिप्पर रोकी तोडफोड र कुटपिटमा उत्रिएपछि सुरक्षाको कारण बाध्य भएर काम रोक्नुपरेको हो ।’
हातपात हुदा कम्पनीमा काम गर्ने आधा दर्जन कर्मचारी घाइते भए । जसमध्ये ४ जनाको अहिले पनि काठमाडौंमा उपचार भईरहेको गणपति गु्रप अफ कन्सट्रक्सन प्रालिका चेयरमैन भण्डारीले बताए । उनले गत असोज १६ गतेदेखि १० वटा टिपर, ग्रेडर २, रोलर २, एक्जाभेटर ३, ट्यांकर २ वटा गरि ३० करोडको साधन त्यस्तै थन्काइएको र त्यसमा प्रयोग हुने जनशक्ति करिव १५० जना साईडमै काम ठप्प पारेर बस्नुपरेको दुखेसो पोखे । उनले गत आर्थिक वर्षको स्टक सामग्री बाट काम गरिरहेको जानकारी गराउदा गराँउदै नयाँ ठेकेदारका कर्मचारी घरेलु हातहतियारसहित कम्पनीको गाडी रोक्नुको साथै तोडफोड र कुटपिटमै उत्रिनु नितान्त अराजकता भएको बताए । ‘हाम्रो पुरानो स्टक हो भन्ने कुरा जिल्ला समन्वय समितिबाट समेत प्रमाणित हुँदै गर्दा पनि सपना टेडर्सका नाममा राति कुटपिट र तोडफोडमा उत्रेको कारण काम ठप्प पार्दा दैनिक ४० लाखको कम्पनीलाई नोक्सान भएको छ त्यसको क्षतिपूर्ती कसले दिने हो,’ उनले भने ।
सम्झौतामा उल्लेख गरिएको समयमा काम सम्पन्न गराउन न सकेको सरकारलाई १० प्रतिशत जरिवाना तिर्नुपर्ने अर्काे समस्या रहेको भण्डारीले जिकिर गरे । असोजको घटना घटेपछि प्रहरी प्रशासनलाई सुरक्षाको माग गर्दै लिखित निवेदन दिएको भएपनि प्रहरी प्रशासनबाट त्यतिखेर आवश्यक मात्रामा सुरक्षा नपाएको भएपनि अहिले प्रशासनको भरपुर सहयोग भईरहेकोमा खुसी ब्यक्त गर्दै समयमै काम सकिने आसा पलाएको भण्डारीले बताए । उनले भने, ‘फिल्डमा काम सुरु भएदेखिको झण्डै ८ महिनामा २५ जना प्रविधिकले सुरक्षाको कारण देखाउदै काम छाडेर गएका छन् । बिभिन्न बाहनामा हुने गरेका अवरोधको कारण निर्माण कार्य नै प्रभावित बनेकोले काम गर्ने बाताबरण बिग्रिएको भएपनि अहिले चौतर्फी सहयोग पाइरहेका छौ, काम द्रुत गतिमा अगाडि बढिरहेको छ उनले बताए ।’ चेयरमैन भण्डारीका अनुसार मंगलवार नेपालगन्जको पुष्पलाल चोक, राप्ती सुनारी गाँउपालिकाको लालपुर र नरैनापुर गाँउपालिकाको जमुनीबाट एकै साथ कामको शुरुवात भएको छ ।
बिभिन्न ठेक्का कम्पनीहरु ठेक्का लिएर काम अधुरो छोडेर भागेको ठाँउ हो तर गणपति गु्रप अफ कन्सट्रक्सन प्रालिले काम कम्पलिट गरेर देखाउने छ । गणपति र हामीबीचमा विबाद भएको ठाँउमा जिल्ला समन्वय समितिले दुबै पक्षलाई राखेर समाधान गर्नु पर्नेमा एकोहोरो गणपतीको ३ हजार ट्रक माल पुरानो स्टक भएको प्रमाणित गरिदिनु ‘चलखेल’ भएको सपना टेडर्सले आरोप लगाएको थियो । जिल्ला समन्वय समितिले करिव २ करोड मूल्यको ३ हजार ट्रिप माल पुरानो स्टक छ भनेर प्रमाणित गरेको छ । त्योबाहेक अरु माल आवश्यक परेमा हामी विना राजस्व एक ट्रक पनि छाड्ने छैनौं,’ शर्माले भने । यसैबीच जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष अजय श्रीवास्तवले गणपतिको ३ हजार ट्रक माल पुरानो स्टक भएको प्रमाणित भएको कुरा गलत नभएको बताए । ‘गणपतिको स्टक प्रमाणित असारमा भएको हो, त्यतिखेर उनीहरुसँग तीन हजार एकसय ट्रिप सामग्री रहेको थियो, भएको कुरा भन्न के गाह्रो ?’ अध्यक्ष श्रीवास्तवले भने । यसैबीच राष्ट्रिय गौरवका आयोजनाहरुको सुरक्षाको लागि आफुहरु सचेत र तत्पर रहदै सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७४, शनिबार ०७:२९