सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

सुर्खेतमा ३० बर्षपछि फेरि आमनेसामने हुँदै ‘पूर्व प्रतिश्पर्धी’

शाक्य आफू जित्ने र कँडेलसँग तीन दशकअघिको पराजयको बदला लिने दाउमा छन् ।

०४९ सालमा भएको निर्वाचनका प्रतिश्पर्धी ३० बर्षपछि आमनेसामने हुँदैछन् । ०४९ सालमा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा प्रतिश्पर्धा गरेका नेपाली काँग्रेसका कालीप्रसाद शाक्य र नेकपा एमालेका यमलाल कँडेल मंसीर ४ गते हुने प्रदेशसभाको निर्वाचनमा आमनेसामने हुँदैछन् ।

उक्त निर्वाचनमा काँग्रेसका शाक्यलाई पराजित गरेर एमालेका कँडेल वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । तीनै प्रतिश्पर्धी आगामी मंसीर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनमा आमनेसामने हुँदैछन् । हाल शाक्य कांग्रेस महासमिति सदस्य हुन् भने कँडेल एमाले स्थायी कमिटी सदस्य हुन् ।

सत्ता गठबन्धनका तर्फबाट सुर्खेत क्षेत्र नं.२ प्रदेशसभा (क)बाट उम्मेदवार बनेका कांग्रेसका शाक्यलाई एकीकृत समाजवादी बाहेकका दलको समर्थन छ भने एमालेले कँडेललाई उम्मेदवार बनाएर एक्लै चुनावी मैदानमा उत्रिएको छ । यस क्षेत्रमा एकीकृत समाजवादीका शिवप्रसाद उपाध्याय, राप्रपाका सूर्यबहादुर खत्रीसहित १० उम्मेदवार प्रतिस्पर्धामा छन् ।

मुख्यमन्त्री बन्ने योजनासहित २०७४ को निर्वाचनमा प्रदेशसभाको उम्मेदवार बनेका कँडेलले तत्कालीन बाम गठबन्धनको सहयोगमा पाँच हजारभन्दा बढी मतान्तरले कांग्रेसका कमलराज रेग्मीलाई पराजित गरेका थिए । यसपटक पनि मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभामा दोहोरिन खोजेका कँडेललाई गठबन्धनका शाक्य चुनौती बनेका छन् ।

गठबन्धनको बलमा आफूले चुनाव जित्ने शाक्यको दाबी छ । उम्मेदवार शाक्य भन्छन्, ‘मेरो उम्मेदवारीबाट सिंगो पार्टी र गठबन्धन उत्साही बनेको छ । संगठन मजबुत र गठबन्धन दलको सहयोग मेरो जित्ने आधार हो ।’ कांग्रेस महासमिति सदस्य शाक्य आफू जित्ने र कँडेलसँग तीन दशकअघिको पराजयको बदला लिने दाउमा छन् ।

कांग्रेसका पूर्व जिल्ला उपसभापति, पटक–पटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भएका शाक्यले जिल्ला समन्वय समिति संयोजक बन्ने योजनासहित २०७४ को स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगर–९ को वडा सदस्यमा उम्मेदवारी दिएका थिए । तर, उनी झिनो मतान्तरले पराजित हुनुपरेको थियो ।

यसअघि मुख्यमन्त्री हुने योजनासहित प्रदेशसभामा निर्वाचित कँडेल मुख्यमन्त्री बन्न भने सकेनन् । त्यतिबेला साविक पूर्वमाओवादीको भागमा कर्णालीको मुख्यमन्त्री परेपछि कँडेलको योजना असफल भएको थियो ।

‘पार्टीमा एकता र वाम गठबन्धनको सहयोगले मैले चुनाव जित्ने पक्का छ, ०४९ सालयता कँडेलले सुर्खेतका लागि गरेको विकास जनताले हेरिसकेको छ,’ उनले भने, ‘उहाँले ३० वर्षसम्म जनतालाई भोट बैंकका रुपमा मात्रै प्रयोग गर्नुभयो, हरेक पटक उहाँको झूटो आश्वासनबाट हैरान भएका छन्, अब उनीहरूले नयाँ अनुहारलाई जिताउनेछन् ।’

शाक्यले कँडेल र उपाध्यायभन्दा आफू बलियो उम्मेदवार भएको दाबी गरे । उनका अनुसार लामो समयदेखि दुई गुठमा विभाजित सुर्खेत कांग्रेस अहिले विवादमुक्त छ । यता एमाले नेता कँडेल पनि आफ्नो विजयी यात्रा जारी राख्ने लक्ष्यमा छन् । एमालेका कँडेल हाल पार्टीको कर्णाली प्रदेश इन्चार्ज र स्थायी कमिटी सदस्य हुन् ।

त्यसयता कँडेल प्रदेशसभा र थानी प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दै आएका छन् । ‘केन्द्र, प्रदेश जहाँ भए पनि सङ्घीयता कार्यान्वयनमा भूमिका निर्वाह गर्ने हो,’ एमाले उम्मेदवार कँडेलले भने । प्रदेशसभाको पहिलो कार्यकालले उल्लेख्य काम गर्न नसकेकाले पुनः प्रदेशसभाकै उम्मेदवार बनेको एमाले उम्मेदवार कँडेलले बताए ।

०४९ सालमै वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख जितेका एकीकृत समाजवादीका नेता शिवप्रसाद उपाध्याय पनि शाक्य र कँडेलसँग प्रतिस्पर्धामा उत्रिएका छन् । उनीहरू तीनै जनाबीच प्रदेशसभा २ (क) बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा हुनेछ । तीनै जना उम्मेदवारले निर्वाचन आफूले जित्ने दाबी गरिरहेका छन् ।

यसअघि मुख्यमन्त्री हुने योजनासहित प्रदेशसभामा निर्वाचित कँडेल मुख्यमन्त्री बन्न भने सकेनन् । त्यतिबेला साविक पूर्वमाओवादीको भागमा कर्णालीको मुख्यमन्त्री परेपछि कँडेलको योजना असफल भएको थियो । यसपालि फेरि मुख्यमन्त्री हुने योजनासहित कक्डेल आफूभन्दा कनिष्ट एमाले नेताहरूलाई प्रतिनिधिसभामा पठाएर प्रदेशमै लडेका छन् ।

एकीकृत समाजवादीबाट प्रदेशसभा सदस्य लडेका उपाध्यायले भने लामो समयसम्म संघर्ष गरेकाले आफूले जित्नेमा दुईमत नभएको तर्क गरे । उनले दुई पटक वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख भएर काम गरेकाले पनि आफूले चुनाव जित्ने बताए । ‘नगरवासी र मतदाताले मलाई नजिकबाट चिन्नुभएको छ, म जित्नेमा विश्वस्त छु,’ उनले भने ।

गठबन्धनभित्रै चुनावी प्रतिस्पर्धा

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुर्खेतमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भए पनि भाग नपाएपछि एकीकृत समाजवादीले प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्रमा आफ्ना आधिकारिक उम्मेदवार उठाएको छ ।

‘राजनीतिक फाटो आएको समयमा गठबन्धनको बीजारोपण गराउने एकीकृत समाजवादीलाई नै पाखा लगाउने काम भएपछि यो अवस्था आएको हो,’ बडुवालले भने, ‘जनमत हाम्रो पक्षमा भएकाले हामी चुनावमा होमिएका हौं ।’

एकीकृत समाजवादीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ (क) र (ख) मा उम्मेदवार उठाएको छ । भाग नपाएपछि प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवार अगाडि सारेको एकीकृत समाजवादीले ती दुई क्षेत्रमा समाजवादीका नेताहरुले दलबाट आधिकारिक टिकट लिएर चुनावी प्रचारमा लागेका छन् ।

भागबण्डामा नपरेपछि असन्तुष्टि जनाउँदै पार्टीको जनमतका आधारमा उम्मेदवारी दिएको एकीकृत समाजवादीका जिल्ला तहका नेताहरुको दावी रहेको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ (क) मा शिवप्रसाद उपाध्याय र (ख)मा मोहनसिंह बडुवाललाई गठबन्धनविरुद्ध उम्मेदवार बनाएको छ ।

यसले सुर्खेतका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धन दलहरुभित्रै चुनावी प्रतिस्पर्धा हुने भएको छ । भागबण्डामा यो निर्वाचन क्षेत्रमा प्रदेशसभा २ (क) नेपाली काँग्रेस र (ख) नेकपा माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनका तर्फबाट (क) मा काँग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बनेका छन् ।

सुर्खेतमा जनमतको कदर गर्दै दलबाट छुट्टै उम्मेदवारी परेको एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष प्रदेशसभा सदस्यका उम्मेदवार मोहनसिंह बडुवालले बताए । ‘गठबन्धनको निर्णय जेसुकै भए पनि जनताको साथ हामीसँग छ,’ उनले भने, पार्टीको केन्द्रीय निर्णय अनुसार नै आधिकारिक टिकट आएपछि उम्मेदवारी दिएका हौं ।’

उनले गठबन्धन गर्न मुख्य भूमिका खेल्ने दलमाथि नै प्रहार भएपछि मित्रवत् प्रतिस्पर्धाका लागि निर्वाचनमा होमिनुपरेको बताए । ‘राजनीतिक फाटो आएको समयमा गठबन्धनको बीजारोपण गराउने एकीकृत समाजवादीलाई नै पाखा लगाउने काम भएपछि यो अवस्था आएको हो,’ बडुवालले भने, ‘जनमत हाम्रो पक्षमा भएकाले हामी चुनावमा होमिएका हौं ।’

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतवार १७:१५