सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

आफ्नै कार्यकर्ताले साथ छाडेपछि दीपक बोहरा ‘होपलेस’

आफ्नाले छोड्नै जाने र समर्थन गरेको पार्टीका नेता कार्यकर्ताले पनि मतदान नगर्ने अवस्था बनेपछि बोहरा ‘होपलेस’ भइसकेको विश्लेषण हुने गरेको छ ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ता धमाधम अन्य पार्टीमा प्रवेश गरिरहेका छन् । निर्वाचनको मुखैमा पार्टीका नेता कार्यकर्ता अन्य पार्टीमा प्रवेश गर्न थालेपछि नेकपा एमालेको समेत समर्थन पाएका राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा तनावमा छन् ।

एमालेले समर्थन गरेपछि बोहरा एमालेकै उम्मेदवारझै प्रचारमा जुटेपछि कार्यकर्ता रुष्ट छन् । बोहराले एमालेसँग हिमचिम बढाएर आफ्ना पार्टीका नेता कार्यकर्तालाई पाखा लगाएपछि पार्टी परित्याग गर्नेको लर्को लागेको छ । केही समयअघि राप्रपाका जिल्ला उपाध्यक्ष अजयकुमार गुप्ताले बोहराको गतिविधिप्रति असन्तुष्टी जनाउँदै राजिनामा दिएका थिए ।

अजयसँगै उनका श्रीमती विनिता गुप्ताले पनि राजीनामा दिएका छन् । विनिता बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा सिद्धार्थनगरको उपमेयरका उम्मेदवार थिइन् । उनले ६ हजार ५४४ मत पाएकी थिइन् । अजय र बिनिताको राजीनामाले राप्रपा रुपन्देहीमा हलचल पैदा भयो । त्यसयता निरन्तर राप्रपाका नेता कार्यकर्ता अन्य पार्टीमा प्रवेश गरिरहेका छन् ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मनोनयन भन्दा केही दिनअघि अजय र बिनितालाई पार्टी नेतृत्वले थामथुम गर्ने प्रयास त गरेका थिए । तर, उनीहरु यतिखेर सक्रिय छैनन् । जिल्लाका शीर्ष नेता सक्रिय नहुनु र बाँकी नेताकार्यकर्ता पनि अन्य पार्टीमा प्रवेश गर्नुले राप्रपाका उम्मेदवार बोहरालाई पराजित हुने पिरलो झनै बढेको छ ।

हालै मात्र राप्रपा सिद्धार्थनगरका अध्यक्ष इन्जिनियर चन्द्रभक्त श्रेष्ठ कांग्रेस प्रवेश गरे । चन्द्रभक्त कांग्रेस प्रवेश गरेपछि सुरु भएको राप्रपा परित्यागको क्रम रोकिएको छैन । मगंलवार मात्रै बुटवल–१४ का अध्यक्ष रामदयाल चौधरी कांग्रेस प्रवेश गरे । त्यस्तै राप्रपा सिद्धार्थनगरका पूर्व नगर सचिव तारानाथ पाण्डेय र वडा नं.९ का उपसभापति रामबहादुर थापा पनि कांग्रेस प्रवेश गरेका छन् ।

त्यसैगरी, बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सियारीमा राप्रपाका उम्मेदवार रहेका रगंनाथ गुप्ता पनि कांग्रेस प्रवेश गरेका छन् । राप्रपा रुपन्देहीमा लामो समय योगदान गरेका भैरहवाका रबि रौनियारले यसअघि नै राप्रपा परित्याग गरिसकेका छन् । जितका लागि जनमत बढाउँदै जानुपर्ने बेलामा आफ्नै कार्यकर्ताले समेत साथ छोड्न थालेपछि दीपक बोहरा अप्ठ्यारोमा परेका छन् ।

मतदातालाई नमस्कार गर्दै हिँड्नुपर्ने बेलामा बोहरा भने कार्यकर्ता छेक्नमै व्यस्त छन् । एमालेको समर्थनसहित मुख्य प्रतिस्पर्धीको रुपमा आएका बोहरा एकपछि अर्को गर्दै आन्तरिक झमेलामा परेपछि वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बालकृष्ण खाँडालाई हाइसञ्चो भएको छ । केन्द्रीय सहमतिअनुसार एमालेले समर्थन गरे पनि रुपन्देही–३ का एमाले नेता कार्यकर्ताले बोहरालाई मतदान गर्ने सम्भावना त्यसै पनि कम छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बौद्धिक नेता घनश्याम भुसालको टिकट खोसेर राप्रपालाई दिएपछि स्थानीय एमाले त्यसै पनि असन्तुष्ट छन् । आफ्नाले छोड्नै जाने र समर्थन गरेको पार्टीका नेता कार्यकर्ताले पनि मतदान नगर्ने अवस्था बनेपछि बोहरा ‘होपलेस’ भइसकेको विश्लेषण हुने गरेको छ । सुरुवाती चरणमा बोहराभन्दा खाँण कमजोर रहेको विश्लेषण हुने गरेको थियो । तर, निर्वाचनको मिति नजिकिएसँगै खाँडको पक्षमा जनमत बलियो भन्दै गएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १०:४७