सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

बाँकेमा हतियार सङ्कलन शुन्य, निर्वाचनमा बढ्दै असुरक्षा

बाँकेमा ८३४ वटा हतियार छन् । तर, निर्वाचनको बेला हतियार जम्मा गर्ने सूचना जारी गरिएकोमा हालसम्म कसैले पनि हतियार जम्मा गरेका छैनन् ।

फाइल तस्वीर

बाँके जिल्लामा लाइसेन्स लिएर हतियार राख्ने र नवीकरण गर्नेको सङ्ख्या ठुलै छ । तर निर्वाचनका बेला ती हतियार प्रहरी इकाईमा जम्मा गर्नुपर्ने सूचना जारी गरेर जम्मा नगरे कारवाही हुने चेतावनी दिइए पनि निकै कमले मात्र जम्मा गर्ने गरेको पाइएको छ ।

गत वैशाखमा पनि स्थानीय तहको निर्वाचनका बेला १० भन्दा कम मात्र हतियार प्रहरी इकाईमा जम्मा गरिएका थिए । २०७४ सालमा भएको निर्वाचनमा समेत प्रशासनले पटक पटक सूचना जारी गर्दा पनि लाइसेन्स वाला हतियार प्रहरी इकाई मा निकै कम सङ्ख्यामा जम्मा गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङक अनुसार जिल्लामा ५५५ जनाले हतियार राख्न अनुमति लिएर एक हजार जति हतियार राखेका छन् । गत आर्थिक वर्ष २०७८–०७९ मा एउटा हतियार नामसारी भएको छ । उक्त अवधिमा १६९ वटा हतियार नवीकरण गरेको प्रशासनको तथ्याङक रहेको छ ।

प्रशासनले हातहतियार नवीकरणबाट मात्रै गत आर्थिक वर्षमा पाँच लाख रुपैयाँ राजश्व असुल गरेको छ । प्रशासनको तथ्याङक अनुसार बाँकेमा ३०० थान भरुवा बन्दुक र ५३४ वटा बारबोर रहेको छ । जिल्लामा पेस्तोल सात वटा, बाराबोर एकनाले १७७, दुई नाले २४१, राइफल ८८ थान, एअरगन ३ थान, ३२ बोर ३ थान रहेका छन् ।

जसमा सर्ट गन २ थान, १६ बोर राइफल ४ थानसहित बाँकेमा ८३४ वटा हतियार छन् । तर, निर्वाचनको बेला हतियार जम्मा गर्ने सूचना जारी गरिएकोमा हालसम्म कुनै पनि हतियार जम्मा गरिएको छैन । अनुमति लिएर राखिएका र भारतबाट भित्रिने अवैध हतियार तथा नेपालमै उत्पादित साना–घरेलु हतियार जिल्लाको सुरक्षाका लागि ठुलो चुनौती बन्दै गएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार विभिन्न स्थानमा भएको आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग बढी हुने गरेको छ । खुला सीमा र नेपाली सुरक्षाकर्मीको पातलो उपस्थितिले भारतबाट सहजै हतियार भित्रिने हुँदा त्यस्ता हतियार नै निर्वाचन सुरक्षामा बाधक बन्ने देखिएको छ ।

अनुमति लिएका हतियार जम्मा गराउन र भारतबाट अवैध हतियार भित्रिन नदिन कडाइ सुरु गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । उनले लाइसेन्स भएका हतियार सबै जम्मा गराउन कडाइ सुरु गरिएको बताए । एसपी अधिकारीले नाकाहरूबाट पनि कुनै अवैध हातहतियार र आपराधिक व्यक्तिको घुसपैठ रोक्न कडाइ अपनाइएको बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १०:२७