पश्चिम नेपालको सुदूरपश्चिम प्रदेशमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–३ को गैरागाउँमा उक्त घटना भएको हो ।
गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबै जनाको शव निकालिएको छ भने एक दर्जनभन्दा बढी घाइते छन् । केहीको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका स्थानीय प्रशान्त खड्काले जानकारी दिएका छन् ।
बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्जस्थित खप्तड बाबा आश्रम आसपास आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताए ।
यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो । गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् । उनीहरू चिसोमा खुला आकाशमुनि रात बिताएका थिए ।
नेपालसहित भारत र चीन पनि हल्लायो
मंगलबार बेलुकादेखि डोटीमा तीन पटक भूकम्पको धक्का महसुस भएको थियो । साथै सो भूकम्पको धक्का सुदरपश्चिम र कणालीका विभिन्न जिल्लामा महसुश भएको छ । नेपालसहित उत्तर भारतमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको गहिराई जमिनमुनि १० किलोमिटर थियो । केन्द्रका अनुसार भूकम्पको म्याग्निच्युड रिक्टर स्केलमा ६.६ मापन गरिएको थियो । भारतको मणीपुरबाहेक दिल्ली–एनसीआर, उत्तर प्रदेश र बिहारमा पनि भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो ।
हालसम्म भारतमा मानवीय क्षतिको विवरण भने आएको छैन । भूकम्प मापन केन्द्रका अनुसार नेपाल र भारतका साथै चीनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पबाट भएको एकीन क्षतिबारे हालसम्म कुनै विवरण छैन ।
सत्यपाटी संवाददाता । डोटी